Skip to content

नेपालीको सुरक्षाबारे प्रधानमन्त्री कार्कीको चासो, युएईका राष्ट्रपतिसंग टेलिफोन संवाद

nabil bank

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गर्दै युएईमा रहेका नेपाली नागरिकको सुरक्षाबारे चासो व्यक्त गरेकी छिन् ।

आज अपरान्ह भएको टेलिफोन संवादमा प्रधानमन्त्री कार्कीले पवित्र रमजानको अवसरमा शान्ति, न्याय र सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । संवादका क्रममा उनले संयुक्त अरब इमिरेट्सको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी भएका आक्रमणहरूको निन्दा गर्दै यस विषम परिस्थितिमा नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले सम्बन्धित सबै पक्षलाई संयम अपनाउन, तनाव थप नबढाउन तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेकी छन् । युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले कूटनीति र संवादमार्फत मात्र दिगो शान्ति सम्भव हुने बताइन् ।

उनले युएई सरकारले त्यहाँ कार्यरत तथा बसोबास गर्ने नेपाली नागरिकसहित सबै बासिन्दा, आगन्तुक र ट्रान्जिटमा रहेका यात्रुहरूको सुरक्षा सुनिश्चित गरेकोमा आभार व्यक्त गरेकी छन्। साथै गत मार्च १ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीका क्रममा एक नेपाली नागरिकले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले क्षेत्रीय तनावका कारण नेपाल प्रत्यक्ष पक्ष नभए पनि यसको असर भोगिरहेको उल्लेख गर्दै नेपाली नागरिकको सुरक्षा, बढ्दो इन्धन मूल्य, लगानी प्रवाहमा संकुचन र मुद्रास्फीतिका कारण आर्थिक दबाब बढेको बताएकी छन् ।

संवादका क्रममा राष्ट्रपति अल नाह्यानले यस कठिन परिस्थितिमा नेपालले देखाएको ऐक्यबद्धता र सहानुभूतिप्रति धन्यवाद व्यक्त गर्दै नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न युएई सरकार प्रतिबद्ध रहेको बताए । उनले नेपाल–युएईबिचको सुमधुर सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीहरूको मेहनती स्वभाव र असल आचरणको प्रशंसा गरेका छन्।

राष्ट्रपति अल नाह्यानले केही नेपाली स्वदेश फर्कन चाहेको जानकारी आफूले पाएको उल्लेख गर्दै परिस्थिति सहज भएपछि आवश्यक सहजीकरणको लागि सहयोग उपलब्ध गराइने पनि बताउनुभयो। प्रधानमन्त्री कार्की र राष्ट्रपति अल नाह्यानबीचको संवाद सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi