काठमाडौं । सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत परिणामले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा लगायतका दललाई हेरेको हेरेई बनाएको छ । देशभर एकाएक छाएको रास्वपाको क्रेजले यी दलका शिर्ष नेता संसदमा पस्नै पाएनन् ।
गगन थापालाई सभापति बनाएपछि ‘पार्टी बदल्यौं,देश बदल्छौं’ भन्दै १६५ क्षेत्रमा उम्मेदवार उठाएको कांग्रेसका पदाधिकारी संसद पस्नै पाएनन । भृकुटी मण्डपमा विशेष महाधिवेशन गरेर शेरबहादुर देउवालाई सभापतिबाट हताउँदै नयाँ नेतृत्वले ‘कांग्रेसले बदल्यौं, अब देश बदल्छौं’ भनेका थिए । तर, जनताले पत्याएनन् ।
एमालेको नेतृत्व केपी ओली बाहेक अरुले गर्न सक्दैन भनेर दम्भ देखाउनेहरु हेरेको हेरेइ भए । एमालेका अध्यक्षदेखि महासचिवसम्म मत परिणाम हेरेको हेरेई भए । सबै ठाँउमा रास्वपाले ठूलो स्वरमा घण्टी बजायो । यो निर्वाचनले कांग्रेसका सभापतिदेखि एमाले अध्यक्ष ओलीसम्म यो पटक संसद प्रवेश गर्न नपाउने भएका छन् ।
कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । उनी रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह सँग प्रतिस्पर्धा गरिरहेका छन् । थापा भन्दा सिंह करिब दोब्बर मतले अगाडि छन् । यो क्षेत्रमा थापा विजयी हुने सम्भावना न्यून बन्दै गएको छ । अहिले मत गणना जारी छ ।
पूर्व स्वास्थ्यमन्त्री कांग्रेस महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ मा पराजित भएका छन् । उनी रास्वपाका उम्मेदवार सस्मित पोखरेलसँग भारी मतले पराजित भए । पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेलले जम्मा ९ हजार १५९ मत मात्रै पाए ।
यस्तै अर्का महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्री फरमुल्लाह मन्सुरले पनि नमिठो पराजय भोगे । घिमिरे मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशीसँग पराजित भए । राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरे १२ हजार ८१८ मतमा सिमित भए ।
बारा–३ बाट उम्मेदवार बनेका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले रास्वपाका अरबिन्द साहसँग नमिठो हार ब्यहोरे । रास्वपाका साहले ४० हजार ६ सय ९७ मत ल्याउँँदा कांग्रेसका मन्सुरले १० हजार ५२ मात्रै मत पाए ।
यस्तै अर्का सहमहामन्त्री प्रकाश स्नेही रसाइली पनि बझाङबाट संसद प्रवेश गर्न पाएनन् ।
बझाङ्का मतदाताले एमालेका उम्मेदवार ऐनबहादुर महरलाई महरले १८ हजार ५४३ मतका साथ विजयी बनाए । रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरे । रसाइली २ हजार २३९ मतले पछि परे ।
यस्तै अर्का सहमहामन्त्री उदयशमशेर राणालाई ललितपुर–१ का मतदाताले उतै रोके । उनी रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भए । महर्जनले २३ हजार ३७३ मत पाउँदा राणा १३ हजार ५२० मतमा रोकिए ।
अर्का सहमहामन्त्री योगेन्द्र चौधरी पनि करिब करिब पराजय हुने देखिएको छ । दाङ–१ का उम्मेदवार चौधरीले पाएको मत रास्वपा उम्मेदवार देवराज पाठकको भन्दा करिब १९ हजार कम छ । यो समाचार तयार पाठकले ३० हजार १७४ मत पाएका छन् भने चौधरीले ११ हजार २२८ मत पाएका छन् ।
अर्का सहमहामन्त्री कर्णबहादुर बुढा पनि विजयी हुने सम्भावना निकै कम देखिएको छ । डोल्पाबाट उम्मेदवार बनेका बुढा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढासँग फराकिलो मतान्तरमा छन् । यो समाचार तयार पार्दासम्म कर्णले ४२७ मत पाएका छन् भने धनले २ हजार ५०१ मत पाएका छन् ।
कांग्रेसका नेता शेखर कोइराला रास्वपा उम्मेदवार रविना आचार्यसँग पराजित भएका छन् । मोरङ–६ मा कोइरालाले १२ हजार ८५० मत पाउँदा आचार्यले ५५ हजार ५१३ मत पाइन् ।
यस्तै मोरङ क्षेत्र नम्बर २ का उम्मेदवार मिनेन्द्र रिजाल पनि पराजय नजिक छन् । यो समाचार तयार पार्दासम्म उनले १२ हजार ३०० मत पाएका छन् । रास्वपाका उम्मेदवार कृष्ण कार्कीले ३९ हजार ५०३ मत पाएका छन् ।
कांग्रेसमा मात्रै होइन्, एमाले भित्र पनि हबिगत उस्तै छ । अध्यक्षदेखि महासचिवसम्म सबै हारे । अध्यक्ष केपी शर्मा ओली रास्वपाका बरिष्ट नेता बालेन्द्र शाहसँग निकै नमिठो गरी पराजय हुँदैछन् ।
यो समाचार तयार पार्दासम्म शाहले ५९ हजार ६५८ मत पाएका छन् भने ओलीले १६ हजार ३५० मत पाएका छन् । ओलीले निकै लज्जास्पद हार व्यहोर्ने निश्चित छ ।
एमालेका अधयक्ष मात्रै होइन, उपाध्यक्ष, सचिव, महासचिव सबैले पराजय भोगे । एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेल रुपन्देही २ मा रास्वपाका सुलभ खरेलसँग पराजित भए । खरेलले ५६ हजार ५५० मत ल्याएर विजयी हुुँदा पौडेल १२ हजार ८६१ मतमा सिमित भए ।
यस्तै लमजुङबाट एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी हुन सकेनन् । रास्वपाका धर्मराज केसीसँग पराजय व्यहोरे । केसीले ३३ हजार ८९८ मत प्राप्त गरे । गुरुङले १६ हजार ८७६ मत पाए । गुल्मी क्षेत्र नम्बर १ मा एमाले नेता प्रदीपकुमार ज्ञवाली पराजित भए । यो क्षेत्रमा रास्वपाका सागर ढकाल विजयी भए । ढकालले २९ हजार ६४२ मत पाउँदा ज्ञवालीले १५ हजार १८१ मत पाए । यही क्षेत्रमा कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीले १३ हजार ५०५ मत पाएर पराजित भए ।
यस्तै एमालेमा उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२ मा रास्वपाका उम्मेदवार गोविन्द पन्थीसँग पराजित भए । पन्थीले १६ हजार ९६७ पाए भने बिष्टले १६ हजार ४०६ मत प्राप्त गरे । दाङ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित भए ।
आचार्यले ४३ हजार ५५७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका महासचिव शंकर पोख्रेलले १५ हजार २८२ मत प्राप्त गरे । कैलाली–४ बाट उम्मेदवार बनेका एमाले उपमहासचिव लेखराज भट्ट पनि विजयी हुने सम्भावना कम हुँदै गएको छ । यो क्षेत्रमा रास्वपाका उम्मेदवार खेमराज कोइरालाले १६ हजार ३१९ मत ल्याउँदा तेस्रो स्थानमा रहेका भट्टले ४ हजार ७२१ मत पाएका छन् ।
अर्का उपमहासचिव रघुवीर महासेठ पनि विजयी हुने सम्भावना करिब सकिएको. छ । रास्वपाका उम्मेदवार राजकिशोर महतोले २५ हजार ८४२ मत ल्याउँदै तेस्रो स्थानमा रहेका महासेठले ४ हजार ६३२ मत पाएका छन् । एमालेका सचिव शेरधन राई भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईसँग प्रतिस्पर्धामा छन् । राईले ७ हजार ४४७ मत पाएका छन् भने शेरधनले ६ हजार ३२९ मत पाएका छन् ।
ओलीका विश्वास पात्र एमाले सचिव महेश बस्नेत पनि भक्तपर–२ मा पराजित भएका छन् । उनी रास्वपाका उम्मेदवार राजीव खत्रीसँग पराजित भए । खत्रीले ४२ हजार ३३४ मत पाए । बस्नेतले १० हजार ९९६ मत पाएर पराजित भए ।
एमाले सचिव डा राजन भट्टराई काठमाडौं–४ मा रास्वपाका उम्मेदवार पुकार बमसँग पराजित भए । बमले २९ हजार १४२ मत ल्याउँदा भट्टराईले ५ हजार ७ सय ३३ मत पाएर पराजय व्यहोरे ।
एमाले सचिव भानुभक्त ढकाल तेह्रथुममा पराजित भए । कांग्रेसका उम्मेदवार सन्तोष सुब्बासँग पराजित भए । सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकाल १० हजार ६८२ मतमा सिमित भए ।











प्रतिक्रिया दिनुहोस्