काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावको कारण विश्व अर्थतन्त्रमा असर देखिन थालेको छ । विशेष गरी अमेरिका, इजरायल र इरानबिच चर्किएको युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको हो । मध्यपूर्व क्षेत्र लगायतको सेयर बजारमा पनि यसको देखिन थालेको छ ।
विश्व बजारमा तेलको मूल्य बढ्दा त्यसको असर संसार भरको अर्थतन्त्रमा देखिएको हो । तेलको मूल्य बढेपछि यसको असर ऊर्जा क्षेत्र, जेट इन्धन, यातायात, उद्योग, कृषि उत्पादन तथा मल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको लागत पनि बढ्छ। यसले विश्वभर महँगी बढाउने जोखिम सिर्जना गरेको छ ।
तेलको मूल्य बढ्दा त्यसको असर नेपालमा पनि देखिने सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन् । युद्धको कारण विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल सय अमेरिकी डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जानकारी दिएका छन् । नेपालको इन्धन, यातायात, उद्योग, कृषि उत्पादन तथा मल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ लगायतका क्षेत्रमा असर देखिने नेपालका वाणिज्य विद् रविशंकर सैंजुले एक सार्वजनिक कार्यक्रममा बताएका छन् ।
बिबिसीका अनुसार युद्धका कारण ऊर्जा आपूर्तिमा अवरोध आउने सम्भावना बढेपछि बजारमा तेलको मूल्य उकालो लागेको हो। विश्वको ठुलो मात्रामा तेल ‘हर्मुज जलसन्धि’ (पर्सियन खाडी र ओमानको खाडी जोड्ने महत्त्वपूर्ण समुद्री मार्ग) हुँदै ढुवानी हुने गर्छ। यो फारसको खाडी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग हो। सामान्य अवस्थामा विश्वको करिब ५ भाग तेल यही मार्ग हुँदै विश्व बजारमा पुग्ने गर्छ।
युद्ध सुरु भएपछि यस मार्ग हुँदै हुने जहाज आवतजावत घटेको छ । सुरक्षा जोखिम बढेपछि केही तेल ट्यांकरहरूले यात्रा स्थगित गरेका छन् । युद्धको कारण सुरक्षाको जोखिम बढेपछि केहीले जहाजहरूले आफ्नो मार्ग परिवर्तन गरेका छन्। यसको प्रत्यक्ष असर विश्व बजारमा तेलको मूल्यमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा ‘ब्रेन्ट’ कच्चा तेलको मूल्य करिब २४ प्रतिशतले बढेर प्रति ब्यारेल एक सय चौध अमेरिकी डलरभन्दा माथि पुगेको छ। यसैगरी, ‘नाइमेक्स लाइट स्वीट कच्चा तेल २६ प्रतिशतभन्दा बढीले बढेको छ। तेलको मूल्य बढेसँगै विश्वभरका सेयर बजारहरूमा पनि गिरावट आएको छ।
विश्व बजारमा तेलको मूल्य उकालो लाग्दा जापानको ‘निक्केई’ २२५ सूचकांक सात प्रतिशतभन्दा बढीले घटेको छ भने ‘हङकङको ह्याङ सेङ’ सूचकांक तीन प्रतिशतभन्दा बढीले झरेको छ। अष्ट्रेलियाको ‘एएसएक्स’ २०० र दक्षिण कोरियाको ‘कोस्पी’ सूचकांक पनि उल्लेख्य रूपमा घटेका छन्।
हाल भइरहेको युद्ध लामो समयसम्म जारी रह्यो भने तेलको मूल्य अझै बढ्न सक्ने देखिएको छ। हर्मुज जलसन्धि हुँदै हुने ढुवानी लामो समय प्रभावित भए तेलको मूल्य प्रति ब्यारेल एक सय पचास अमेरिकी डलरभन्दा माथि पुग्ने सम्भावना पनि रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।
नेपालमा कस्तो असर पर्छ ?
नेपाल जस्तो पेट्रोलियम पदार्थ आयातमा पूर्ण रूपमा निर्भर देशका लागि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि ठुलो चुनौती बन्न सक्छ। नेपालले पेट्रोलियम पदार्थ मुख्यतः भारतबाट आयात गर्छ र त्यसको मूल्य अन्तर्राष्ट्रिय बजारकै आधारमा निर्धारण छ । यदि विश्व बजारमा कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रह्यो भने नेपालमा पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्न सक्छ। यसले यातायात खर्च बढाउनेछ भने दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा पनि प्रभाव पार्ने वाणिज्य विद् सैंजुले बताए ।
यातायात खर्च बढेपछि खाद्यान्न, निर्माण सामग्री र अन्य वस्तु ढुवानीको लागत बढ्छ। यसको प्रत्यक्ष असर बजारमा महँगी बढ्ने रूपमा देखिन्छ। यसैगरी, हवाई इन्धनको मूल्य बढ्दा हवाई यात्राको भाडा पनि बढ्न सक्छ। पर्यटनमा निर्भर नेपालको पर्यटन क्षेत्रमा पनि यसको असर पर्न सक्छ।
मध्यपूर्वको युद्ध छिट्टै नियन्त्रणमा आएन भने ऊर्जा आपूर्तिमा अस्थिरता बढ्दै जाने देखिएको छ । यस्तो अवस्थामा विश्व अर्थतन्त्रमा थप दबाब पर्ने र महँगी दर बढ्ने सम्भावना रहेको छ। नेपालले पनि यस्तो सम्भावित असरलाई ध्यानमा राख्दै आर्थिक तयारी र नीति समायोजन गर्नुपर्ने आवश्यकता देखिएको छ।
प्रतिक्रिया दिनुहोस्