काठमाडौं । नेपाल राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले निर्वाचित भएको २६ महिनापछि राजीनामा दिएकी छिन् । ६ महिनादेखि अमेरिकामा रहेकी उनले आज राजीनामा पठाएकी हुन् ।
आफुलाई निकै तनाब भएको र त्यही तनाबकाबीच राजीनामा दिएको जनाएकी छिन् ।
‘सहकारी क्षेत्रमा काम गर्दा मेरो तनाव थिएन, तल बसेर काम गर्दा नभएको तनाव अध्यक्ष भएपछि कताबाट आयो, कुन हुण्डरीले ल्यायो थाहा भएन, दिनै पिच्छे कसैको दवाब झेलेर नेतृत्वमा बसिरहन पर्छ भन्ने पनि छैन भन्ने सोचका साथ महासंघको औपचारिक जिम्मेवारीबाट बिदा भएको छु, यसबाट सहकारी क्षेत्र र आम साथीहरुमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छु’ उनको राजीनामा पत्रमा उल्लेख छ ।
महासंघमा आफु अध्यक्ष भएदेखि नै आन्तरिक तथा बाह्य रुपमा पूर्ण सहयोग प्राप्त नभएको उनको गुनासो छ ।
‘राजनीतिक रुपमा एकलौटी सञ्चालक समितिको चयन भएपनि महासंघका हरेक बैठक पूर्व अनिवार्य रुपमा पार्टीको विभागिय प्रमुखसँग सल्लाह लिनु पर्ने, निर्णयहरु पार्टी हित अनुकुल हुनुपर्ने जस्ता दवावको कारण मैले स्वस्फूर्त रुपमा योजना अनुसार काम गर्न सकिन’ उनले भनेकी छिन् ‘महाप्रवन्धक नियुक्तीदेखि अन्य कार्यालयका महत्वपूर्ण काममा पनि अध्यक्षलाई स्वतन्त्र हिसावले काम गर्ने वातावरण बनेन् । यद्यपी टिमका केही साथीहरुको साथ सहयोग र कर्मचारीहरुको सकारात्मक कार्यशैलीका कारण केही महत्वपूर्ण कामहरु पनि भएका छन्’ राजीनामा पत्रमा उल्लेख छ ।
पार्टीको सहकारी विभागबाट भएको हस्तक्षेपले मानसिक रुपमा पनि निकै तनावमा भएको उनको गुनासो छ ।
‘महासंघभित्र सबै राजनीतिक आस्था भएका सहकारीकर्मीहरुलाई मिलाएर लैजानुपर्छ भन्ने उद्देश्य राखेर अथक प्रयास गरेँ तर एउटै पार्टीका साथीहरु रहेको बोर्डमा रहेपनि असहयोगको अवस्था पनि भयो’ उनले भनेकी छिन् ‘आफ्नै साथीहरुको अपमान र हस्तक्षेपले गर्दा मानसिक रुपमा म कमजोर भएको थिएँ ।’
गत भदौमा परिवार अमेरिका जाने भनेपछि केही समयका लागि परिवारसँगै विदेशमा रहदा उपचारसँगै तनाव पनि कम हुन्छ भन्ने परिवारको सल्लाह अनुसार अमेरिका आएको उनको भनाइ छ । ‘यहाँ आएपछि केही परिवर्तन हुन्छ कि ? भन्ने लागेको थियो तर पार्टी नेतृत्वको दवावले नै होला महासंघका साथीहरुले पटक पटक राजिनामा पठाउन दवाव दिनुभयो । राजिनामा नदिए, अविश्वासको प्रस्ताव साधारणसभामा लगेर हटाउने धम्की पनि साथीहरुले दिनुभयो । मैले साधारणसभामा शुभकामना सन्देश पठाए त्यसपछि पनि धेरै दवाव दिएको कारण म राजिनामा दिने निष्कर्षमा पुगे ।’
नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ नेपालको ३१ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएको २ वर्ष काम गर्दै गरेको समयमा अचानक विरामी भएर स्वास्थ्य उपचार र पारिवारीक भेटघाटका लागि विगत ६ महिनादेखि म संयुक्त राज्य अमेरिका रहेको उनले जानकारी गराएकी छिन । गत पुसमा सम्पन्न ३३ औं वार्षिक साधारणसभा भन्दा अगावै स्वदेश फर्कने योजनाका साथ आएको थिए तर स्वास्थ्यमा थप सुधार नभएका कारण साधारणसभामा उपस्थित हुन नसकेर शुभकामना सन्देश पठाएको जानकारी गराएकी छिन् ।
मन्त्रालयमा रोकिएको बजेटलाई निरन्तरता दिने, सरकारसँग मिलेर सातै प्रदेशमा गोष्ठी गर्ने, सहकारी राष्ट्रिय गित निकाल्ने, अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मनाउने, सरकारसंग सहकारी नीति सम्बन्धी सम्बाद, कोअपरेटिभ डिजिटल कन्क्लेभ, सहकारी रोजगार मेलालगायतका धेरै कामहरु भएको उनको दाबी छ ।











प्रतिक्रिया दिनुहोस्