काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा प्रतिनिधि मण्डलले अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बरालसंग भेट गरेको छ । उक्त भेटमा नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरूको सम्बन्धमा विस्तृत छलफल गरिएको हो ।
छलफलमा अध्यक्ष उप्रेतीले शिथिल अवस्थामा रहेको नेपालको अटोमोवाइल क्षेत्रलाई गतिशील बनाउन आवश्यक पर्ने केही नीति नियमहरूमा परिवर्तन आवश्यक रहेको र यसो भएमा सरकारले प्राप्त गर्ने राजश्व र रोजगारीमा पनि वृद्धि हुने धारणा राखे ।
अटोमोवाइल प्रतिनिधिहरुसंगको सो छलफलको क्रममा राजश्व सचिव भूपाल बरालज्यूले नाडाबाट प्राप्त सुझावहरू कार्यान्वयन योग्य रहेको र यी समस्याहरूको विषयमा आफू जानकार समेत रहेको बताएका छन्।
यसै क्रममा अध्यक्ष उप्रेतीले सिकेडी उद्योगले रोजगारी समेत सिर्जना गर्ने भएकोले यसको स्थायित्वका लागि कम्पोनेन्ट उद्योगको आवश्यकता रहेको र त्यस्ता उद्योग खोल्न सरकारले प्रोत्साहन गर्नु पर्ने, त्यस्ता उद्योगहरूका लागि आवश्यक पर्ने कच्चा पदार्थहरू आयात गर्दा छुटको व्यवस्था हुनु पर्ने सुझाव दिएका छन् ।
उनले यसले देशको रोजगारीमा वृद्धि ल्याउने र राजश्व मार्फत राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने बताए । यसैगरी नाडाका अध्यक्ष उप्रेतीले कतिपय अटोमोवाइल बस्तुहरू नेपाल मै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरू सरकारसंग नभएकोले व्यवसायीहरूले विभिन्न समस्याहरूको सामना गर्नु परिरहेको बताए ।
सो छलफलमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले लोन टु भ्याल्यु अनुपात बढाउन अत्यन्त जरुरी रहेको भन्दै यो रेसियोलाई बढाउन सके सवारी साधनहरूको विक्री पनि बढने सन्दर्भमा यसबाट रोजगारी मात्र बढने नभई सरकारको राजश्व प्राप्तिमा समेत वृद्धि हुने भएकोले यसबाट समग्र अटोमोवाइल व्यवसायको इको सिस्टम बढने हुँदा हाल कायम रहेको लोन टु भ्यालु रेसियोलाई पूर्नमूल्याङ्कनका लागि आग्रह समेत गरे।
यसैक्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल उद्योग विस्तार भएमा राजश्व र रोजगारीमा वृद्धि हुने भन्दै सरकारले अझैसम्म पनि सवारी साधनहरूलाई विलासिताको बस्तुमा राखी वर्गीकरण गर्दै आएको गुनासो गरे।
यसै सिलसिलामा नाडाका सल्लाहकार श्रेष्ठले भारतमा जियसटि घटेकोले चोरी निकासी बढेको भन्दै सीमा क्षेत्रमा कडाई गर्नु पर्ने धारणा राखेका छन् । यसैक्रममा श्रेष्ठले महसुलमा समायोजन गर्नु पर्ने समय आएको भन्दै सरकारले अटोमोवाइल उद्योगलाई उच्च प्राथमिकतामा राख्न आग्रह समेत गरे ।
सोही छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले नेपालमा आयात हुने विद्युतीय सवारी साधनहरूको पिक पावरको मापनका सम्बन्धमा केही प्रश्नहरू उठेको सन्दर्भमा नाडा सरकारसंग सहकार्य गर्न तयार रहेको बताए । उक्त छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया र सचिव मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्