Skip to content

घरजग्गा कारोबारमा सुधारका संकेत, कर्जा प्रवाहमा वृद्धिः राष्ट्र बैंक

सबैभन्दा बढी मधेश प्रदेशमा

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर रियल–स्टेट कारोबारको प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क प्रकाशन गर्न सुरु गरेको छ। अबदेखि यस्तो तथ्याङ्क त्रैमासिक रूपमा सार्वजनिक गरिने जनाइएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग तथा राष्ट्र बैंकबाट सङ्कलित तथ्याङ्कका आधारमा तयार गरिएको यो विवरणले घरजग्गा बजारको समग्र गतिविधि बुझ्न सहयोग गर्ने विश्वास गरिएको छ । विश्लेषण लिखत पारितअन्तर्गत राजिनामा कारोबारका आधारमा गरिएको छ ।

रिपोर्टमा रियल–स्टेट कारोबारको सङ्ख्या, कारोबार मूल्य, जग्गाको क्षेत्रफल, सरकारी राजस्व सङ्कलन तथा यस क्षेत्रमा प्रवाहित बैंक कर्जाजस्ता सूचकहरू समेटिएका छन्। तथ्याङ्कलाई राष्ट्रियस्तर मात्र नभई प्रदेश, महानगरपालिका र उप–महानगरपालिका स्तरमा समेत विश्लेषण गरिएको छ।

त्रैमासिक विवरणअनुसार घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रवृत्ति देखिएको छ। पहिलो त्रैमासमा कारोबार न्यून रहने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने प्रवृत्ति देखिएको राष्ट्र बैंकले जनाएको छ।

प्रदेशगत रूपमा हेर्दा कारोबार सङ्ख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा रहेको छ भने त्यसपछि लुम्बिनी र कोशी प्रदेश रहेका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सबैभन्दा कम कारोबार हुने गरेको देखिएको छ । क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशको हिस्सा सबैभन्दा उच्च रहेको छ ।

जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार हुने गरेको छ भने मधेश प्रदेशमा २० आनाभन्दा माथिका प्लटहरूमा बढी कारोबार देखिएको छ । घोषित मूल्य (थैली रकम) का आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर तथा उप–महानगरपालिकामा ५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार भएको देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रयमासमा २३.७ अर्बसम्म पुगेको थियो । त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रयमासमा ८.२ अर्बमा झरेको र पछिल्लो अवधिमा पुनः सुधार भई २०८१/८२ मा करिब १५ अर्बसम्म पुगेको छ ।

रियल–स्टेट कारोबारसम्बन्धी यस प्रकृतिको तथ्याङ्कबाट रियल–स्टेट क्षेत्रको गतिविधि आकलन गर्न सहयोग पुग्ने विश्वास लिएको छ । उपर्युक्त तथ्याङ्कका आधारमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत यस बैंकले गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi