Skip to content

शीतभण्डार निर्माणमा करोडौ भ्रष्टाचार, पूर्वसचिव अधिकारीसहित १६ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीतभण्डार (कोल्ड स्टोरेज) निर्माणमा भ्रष्टाचार गर्ने लुम्बिनी प्रदेशका तत्कालीन सचिवसहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिका–४ मा शीतभण्डार निर्माण गर्ने क्रममा भ्रष्टाचार भएको छ ।

शीतभण्डार निर्माण निर्माणका क्रममा कानुन विपरीत कार्य गरी सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याइएको भन्दै लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारी सहित १६ जना र निर्माण विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

आयोगका अनुसार ७ करोड ७१ लाख ९७ हजार ९८० रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कैद र जरिवानाको सजाय माग गरिएको छ ।

आयोगले तत्कालीन सचिव बैकुण्ठ अधिकारीका साथै तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह–लेखापाल अजय मिश्र, परामर्शदाता मेगा माइन्ड्स आर्किटेक्ट्स एण्ड स्ट्रक्चर प्रालिका सञ्चालक सुगम कोइराला, भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक अशोककुमार तिवारी, तत्कालीन अध्यक्ष जयराम गडेरिया लगायत विभिन्न सहकारीका प्रतिनिधि प्रतिवादी रहेका छन् ।

स्व. श्याम सुन्दर यादव र स्व. कतवारु गोसाईको हकमा बिगो बमोजिम असुल उपर गर्न उनीहरूका श्रीमतीहरू क्रमशः इनरावती यादव र राजपति गोसाईमाथि पनि मुद्दा लगाइएको छ । यस्तै परामर्शदाताका रूपमा मेगा माइन्ड्स आर्किटेक्ट्स एण्ड स्ट्रक्चर प्रालिसँग सार्वजनिक खरिद ऐन विपरित विनाप्रतिस्पर्धा सोझै खरिद गरिएको अख्तियारको दाबी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T