Skip to content

राष्ट्रिय बिमा कम्पनीको सीईओका लागि ४ जनाको नाम सर्टलिस्टमा, को–को छन् ?

काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि शुक्रबार ४ जनाको नाम सर्टलिस्टमा समावेश गरेको छ । कम्पनीले आफ्नो आधिकारीक वेबसाइटमार्फत ४ जनाको नाम सीईओको लागि सार्वजनिक गरेको हो ।

उक्त समितिले कम्पनीको सीईओका लागि नारायणकुमार भट्टराई, डा. शिवहरि श्रेष्ठ, सुरेन्द्र थापा र सुवास कोइरालाको नाम सर्टलिस्ट गरेको छ। सीईओमा आवेदन दिएकामध्ये राजुनाथ खनाल, उज्ज्वलराज अर्याल, नवीन सुवेदी, बुद्धकाजी श्रेष्ठ र रामदेव यादव पहिलो चरणबाटै बाहिरिएका छन्।

सुरेन्द्र थापा साबिक राष्ट्रिय बिमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ हुन्। सुवास कोइराला हाल राष्ट्रिय बीमा कम्पनीका डेपुटी सीईओमा कार्यरत छन्। उनी कम्पनीका हालका निमित्त सीईओ पनि हुन्। यस्तै डा. शिवहरि श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्वप्रशासक हुन् भने नारायणकुमार भट्टराई साबिक गुराँस लाइफ इन्स्योरेन्सका पूर्वसीईओ हुन्।

सर्टलिस्टमा परेकाहरुको प्रस्तुतीकरण आउँदो वैशाख १२ गते र अन्तर्वार्ता वैशाख १३ गतेलाई तोकिएको छ। प्रस्तुतीकरण र अन्तर्वार्ता बिहान ७ः३० बजेबाट सुरु हुनेछ। प्रस्तुतीकरण पावरप्वइन्टमा र प्रस्तुतीकरण तथा छलफलका लागि ४० मिनेटको समय दिइएको छ।

सो कम्पनीको सीईओ पदपूर्ति समितिले माघ २४ गते २१ दिने सूचना जारी गर्दै सीईओका लागि आवेदन खुला गरेको थियो। तोकिएको अवधिमा ९ जनाको आवेदन परेको थियो। तीमध्ये ४ जनाको नाम शुक्रबार सर्टलिस्ट गरिएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T