Skip to content

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो, नाफा कति ?

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२–०८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार बीमा कोष, खुद बीमा शुल्क आम्दानी तथा कुल आम्दानीमा सुधार भएको छ भने कम्पनीको नाफामा घटेको छ। पछिल्लो समय विश्व अर्थतन्त्र र नेपालको अर्थतन्त्रमा देखिएको विविध समस्याको कारण कम्पनीको नाफामा घट्दो अवस्थामा देखिएको कम्पनीले जनाएको छ ।

चालु आवको चैत मसान्तसम्म कम्पनीले ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत वर्षको तुलनामा ९९.८३ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बीमा कोष गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.७० प्रतिशतले वृद्धि भएर ७ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको चैत मसान्तसम्म कम्पनीको बीमा कोष ४ अर्ब २५ करोड ९७ लाख रुपैयाँ रहेको थियो।

त्यसैगरी कम्पनीले यस अवधिसम्म १ अर्ब ४ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा कम्पनीको बीमाशुल्क आर्जन ९२ करोड ९१ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको उक्त अवधिको तुलनामा बीमा शुल्क आर्जन १२.१४ प्रतिशतले बढी हो।

चैत मसान्तसम्म आउँदा कम्पनीको कुल आम्दानी १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा २.९८ प्रतिशतले बढी हो। कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी घटेर १४ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ।

यसैगरी,कम्पनीको अभिकर्तालाई दिइने कमिसन खर्च ८२.०७ प्रतिशतले बढेर ७ करोड ७१ लाख रुपैयाँ पुगेको छ। कुल खर्च पनि वृद्धि भएर १ अर्ब ५७ करोड २७ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ कायम रहेको छ भने महाविपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ११.६७ रुपैयाँबाट घटेर ०.०२ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १८२.७२ रुपैयाँ कायम भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T