काठमाडौं । महालेखा परीक्षकको प्रतिवेदनले देशभरका प्रमुख स्वास्थ्य संस्थाहरूमा करोडौँ मूल्यका स्वास्थ्य उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेको जानकारी दिएको छ। उक्त उपकरणहरू तत्काल सञ्चालनमा ल्याउन महालेखाले निर्देशन दिएको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा करिब ५ करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब मेसिन दक्ष जनशक्तिको अभावमा २०७२ सालदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। यसैगरी, करिब २४ करोड ७७ लाख रुपैयाँ बराबरका सीटी स्क्यान सिस्टम, १४ थान भेन्टिलेटर तथा ५ थान सी–आर्म मेसिनसमेत उपयोगमा आउन सकेका छैनन्।
यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७२ लाख ६० हजार रुपैयाँ बराबरका ५ थान लिड ईसीजी केबुल ३०० सेट प्रयोगविहीन छन् भने गजेन्द्र नारायण सिंह अस्पतालमा ४ करोड ९० लाख रुपैयाँभन्दा बढी मूल्यका एक्स–रे मेसिन, इन्डो युरोलोजी सेट, ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिन तथा इलेक्ट्रोकार्डियोलोजी उपकरणहरू थन्किएको अवस्थामा रहेका छन्।
सिंहदरबार वैद्यखाना विकास समितिमा समेत विभिन्न ६० प्रकारका औषधि उत्पादनसम्बन्धी मेसिनहरू प्रयोगविहीन रहेका छन्। यसैगरी, नेपाल प्रहरी अस्पतालमा १६ स्लाइसको सीटी स्क्यान र १.५ टेस्लाको एमआरआई मेसिनसमेत सञ्चालनमा आएका छैनन्।
स्वास्थ्य सेवा विभागले चालु वर्षमा मात्र ९६५ हाइट बोर्ड र ९६५ इलेकट्रोनिक वेट स्केल खरिदमा ६ करोड ७३ लाख रुपैयाँ खर्च गरेको भए पनि विगतमा खरिद गरिएका ६ करोड ५३ लाख रुपैयाँ बराबरका १ हजार ३३६ वेट स्केल र अन्य उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेका छन्।
यसैगरी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थापनाकालदेखि प्रयोग हुँदै आएको टेलिथेरापी मेसिन चार वर्षदेखि बन्द अवस्थामा रहेको छ। उक्त मेसिनभित्र रहेको रेडियोधर्मी स्रोतको आयु सकिँदै गए पनि त्यसबाट विकिरण जोखिम भने कायम रहेको उल्लेख गरिएको छ।
महालेखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई देशभर रहेका यस्ता उपकरणहरूको यथार्थ विवरण ९लगत० तयार गर्न, नियमित अनुगमन गर्न तथा दक्ष जनशक्ति व्यवस्थापन गरी उपकरणहरूलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।












प्रतिक्रिया दिनुहोस्