काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारबाही गरेको छ ।
बैंकको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणको क्रममा सिमित ऋणीहरूलाई निर्धारित प्रिमियमदरमा पछिको मितिबाट लागू हुने गरी छुट प्रदान गरेको र सो छुट रकम बक्यौता व्याज र साँवा रकम भुक्तानी गर्नमा प्रयोग गरेको पाइएको छ ।
बैंकले तोकिएको समयसीमापश्चात बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनरतालिकिकरण/पुनरसंरचना गरेको, पुनरतालिकिकरण/पुनरसंरचना गरेको कर्जा मध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्र पुनरतालिकिकरण/पुनरसंरचना गरेको कर्जामा वर्गीकरण गरी सो बाहेकको साँवा रकमलाई असल कर्जामा नै वर्गीकरण गरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको पाइएको छ ।
यस्तै अस्थायी रूपमा लामो समयसम्म ऋणीहरूको भुक्तानी अवधि बढाइएको, ९० दिनभन्दा बढी बक्यौता रहेकालाई खराब कर्जा अन्तर्गत वर्गीकरण नगरेको पाइएको छ ।
यस्तो कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको छ । बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरूलाई जारी एकीकृत निर्देशन २०८१ मा रहेको व्यवस्थाहरू उल्लंघन भएको देखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा २ (क) बमोजिम बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा १ (ख) बमोजिम यस बैंकबाट जारी निर्देशनहरुको उल्लंघन गरेबापत हिमालयन बैंक लिमिटेडका सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्नका लागि कबुलियतनामा गराइएको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्