काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र ‘एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपिजी) का प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।
टङ्गालस्थित आयोगको कार्यालयमा भएको भेटघाट तथा छलफलमा एपिजीका तर्फबाट ‘डेलिगेसन’ प्रमुख डेविड सानन र पारस्परिक मूल्याङ्कन संयोजक किया सासलीको सहभागिता रहेको थियो ।
छलफलका क्रममा एपिजीका डेलिगेसन प्रमुख साननले नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’ बाट बाहिरिनका लागि आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा चर्चा गर्दै ‘इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप’ले परिमार्जन गरेको कार्ययोजनाको दृढताका साथ पालना हुनुपर्ने, राष्ट्रिय जोखिम मूल्याङ्कनको कार्य यथाशीघ्र सम्पन्न गर्नुपर्ने र बढी जोखिमपूर्ण देखिएका क्षेत्रमा सुधार केन्द्रित हुनुपर्नेमा जोड दिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपाने विज्ञप्ति जारी गरी साननले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानको क्षेत्रमा आयोगले निर्वाह गरेको कार्यको सराहना गर्दै आगामी दिनमा अनुसन्धान क्षमता थप सुदृढ तुल्याउन आवश्यक प्राविधिक सहायता उपलब्ध गराउन सकिने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे ।
प्रमुख आयुक्त राईले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्ने सवालमा एपिजीले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान र अभियोजनमा आयोगले सम्पादन गरेका विभिन्न नीतिगत तथा कानुनी सुधार, अनुसन्धान र अभियोजनको परिमाणात्मक र गुणात्मक अभिवृद्धि, अनुसन्धान क्षमता विकास र अन्तरनिकाय समन्वयलगायत मुख्य सुधारका विषयमा उनले प्रकाश पारे ।
छलफलका क्रममा प्रमुख आयुक्त राईले नेपालले पूरा गर्नुपर्ने विभिन्न दायित्वमध्ये बढी जोखिममा रहेका क्षेत्रको नियमन, सुपरीवेक्षण र कानुनको प्रभावकारी परिपालना प्रमुख विषय भएकाले त्यसतर्फ सम्बद्ध पक्ष जिम्मेवार हुने धारणा व्यक्त गरे ।
यस्तै, भ्रष्टाचार र अन्य वित्तीय अपराधसँग जोडिएका सम्पत्ति फिर्ता ल्याउन र अनुसन्धानका लागि उपयोगी तथ्य प्रमाण सङ्कलनका लागि सम्बद्ध मुलुकसँग आपसी कानुनी सहायता सम्झौता गर्न आवश्यक रहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्