काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरुबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन् । यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन् ।
आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोवाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ । उहाँहरुले भोलि दिउँसो १२ जनासम्म विवरण सच्याएर पुन: पेश गर्नु पर्नेछ ।
प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीहरुलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ । अभिभावक र विद्यार्थीहरुले कक्षबाट सहायता प्राप्त गर्न सक्नेछन् ।
अहिलेसम्म ८४ जनाको आवेदन अस्वीकृत भएको छ । सबै ठाउँमा एउटै डकुमेन्ट राखिएका, अनावश्यक कागजपत्र राखिएका आवेदकको फाराम अस्वीकृत गरिएको हो । खड्काका अनुसार विद्यार्थीहरुको परीक्षा दिन पाउने अवसरलाई संवेदनशील भएर हेरिएको छ । तोकिएको समयभित्र अनिवार्य अपलोड गर्नु पर्ने विवरण वा कागज अपलोड नगरेमा, विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वत: रद्द हुनेछ । जेठ १३ गतेसम्म फाराम स्वीकृत गर्ने प्रक्रिया चल्नेछ ।
आवेदन फाराम स्वीकृत भएका आवेदकले जेठ १४ गते विहान १० बजेपछि फाराम भरेकै साइटमा गएर प्रवेश पत्र डाउनलोड गर्न र कलर प्रिन्ट गर्न सक्नेछन् । परीक्षा केन्द्र र परीक्षा सम्बन्धी जानकारी प्रवेश पत्रबाट प्राप्त गर्न सकिनेछ ।
आवेदकमध्ये सबैभन्दा धेरैले विज्ञान विषयका लागि फाराम भरेका छन् । यसरी फाराम भर्नेको संख्या १८ हजार ९९६ जना रहेको छ । व्यवस्थापनमा ७ हजार २७१ जना, कानुनमा ४०७ जना, शिक्षामा १३५ जना र मानविकी ७९ जना छन् ।
कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले शिफारिस गर्छ । कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा शिफारिस गर्छ ।
परीक्षापछि योग्यता क्रमको सूची प्रकाशन हुन्छ । यसपछि म्याचिङ् लिष्टबाट नाम शिफारिस हुन्छ । नाम शिफारिस गरिएका विद्यार्थीहरुले कक्षा ११/१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।












प्रतिक्रिया दिनुहोस्