Skip to content

ब्रिटिश अन्तर्राष्ट्रिय लगानी संस्था र लक्ष्मी सनराइज बैंकबीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सम्झौता

काठमाडौं । बेलायतको विकास वित्त संस्था तथा प्रभावमुखी लगानीकर्ता ब्रिटिश अन्तर्राष्ट्रिय लगानी संस्था र लक्ष्मी सनराइज बैंक) बीच नेपालका लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार उक्त लगानीमार्फत लघु, साना तथा मझौला उद्यम क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गरिनेछ। कुल कर्जा सुविधामध्ये ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि छुट्याइने जनाइएको छ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा लघु, साना तथा मझौला उद्यम क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको छ भने यस क्षेत्रले झन्डै २० लाख मानिसलाई रोजगारी प्रदान गर्दै आएको छ। तर वित्तीय संस्थाको सीमित पहुँच तथा बैंकिङ प्रक्रियासम्बन्धी जटिलताका कारण औपचारिक वित्तीय प्रणालीमार्फत जम्मा १६ प्रतिशत उद्यमले मात्र कर्जा सुविधा प्राप्त गर्न सकेको तथ्यांकमा उल्लेख छ।

यस सहकार्यले वित्तीय पहुँचबाट वञ्चित व्यवसायीलाई पूँजी उपलब्ध गराउँदै रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन तथा समावेशी निजी क्षेत्र विकासमा योगदान पुग्ने विश्वास गरिएको छ।

बैंकले महिलाको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने विश्वव्यापी पहल २ एक्सचेनज अन्तर्गत मान्यता प्राप्त गरेको जनाएको छ। बैंकको सुशासन, नेतृत्व, रोजगारी तथा कर्जा पोर्टफोलियोमा लैङ्गिक समावेशिताको प्रगतिलाई आधार मानी उक्त मान्यता प्रदान गरिएको हो।

यसैबीच, बैंकले आफ्नो वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ। यसले दिगोपनासम्बन्धी रणनीति, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

बेलायतकी हिन्द–प्रशान्त मामिला तथा समानता मन्त्री सीमा मल्होत्राले नेपालसँगको बेलायतको सहकार्य दीर्घकालीन रहेको उल्लेख गर्दै महिला उद्यमशीलता र समावेशी आर्थिक विकासलाई अघि बढाउन यस्तो साझेदारी महत्वपूर्ण हुने बताइन्।

त्यसैगरी, ब्रिटिश अन्तर्राष्ट्रिय लगानी संस्थाका एसिया क्षेत्र प्रमुख तथा प्रबन्ध निर्देशक श्रीनी नागराजनले नेपाललाई आफ्नो अग्रणी विकासशील बजार रणनीतिको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै वित्तीय पहुँचबाट वञ्चित व्यवसायलाई सहयोग गर्न लक्ष्मी सनराइज बैंकसँग सहकार्य गरिएको बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T