Skip to content

ओमोडा ई५ प्रो सार्वजनिक, कति छ मूल्य ? 

काठमाडौं ।  एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक गरेको छ ।

नेपालमा ओमोडा ई५ पहिले नै लोकप्रिय विद्युतीय सवारीका रूपमा स्थापित भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हालसम्म १५ सयभन्दा बढी ई५ नेपाली सडकमा सञ्चालनमा छन्। नयाँ ई५ प्रोले यही सफलतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

नयाँ मोडेलमा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री, ९९ किलोवाट क्षमताको विद्युतीय मोटर र २८८ न्युटन मिटर टर्क छ। यसले एकपटकको पूर्ण चार्जमा डब्लुएलटिपी मापदण्डअनुसार ३५० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ। सार्वजनिक भएको अवसरमा कम्पनीले पहिलो ५० ग्राहकका लागि विशेष मूल्य घोषणा गरेको छ। यसअन्तर्गत ४९ लाख ९९ हजार रुपैयाँमै गाडी उपलब्ध हुनेछ। साथै, एक वर्षको निःशुल्क सवारी बीमा सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ।

१९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्सका कारण यो गाडी नेपाली सडकका विविध अवस्थाका लागि उपयुक्त मानिएको छ। साथै, १८ इन्चका अलोय ह्विलले यसको बाह्य स्वरूपलाई अझ प्रिमियम र स्पोर्टी बनाएको छ। गाडीको बाहिरी बनावट आधुनिक र ‘फ्युचरिस्टिक’ शैलीमा तयार गरिएको छ। अगाडिको डिजाइन, हावाको प्रतिरोध कम गर्ने बनावट तथा विशेष पछाडिका बत्तीहरूले यसलाई सडकमा अलग पहिचान दिन्छन्।

गाडीको इन्टेरियर आरामदायी तथा प्रिमियम अनुभव प्रदान गर्ने खालको छ। इलेक्ट्रिक सनरुफ, उच्चस्तरीय सामग्रीको प्रयोग र आधुनिक प्रविधिले यात्रालाई थप सहज बनाउने कम्पनीको भनाइ छ।

यसमा मसाज सुविधा भएको चालक सिट, आठवटा सोनी अडियो सिस्टम र १५.६ इन्चको स्क्रिन समावेश गरिएको छ। यी सुविधाले यात्राको अनुभवलाई थप आरामदायी र मनोरञ्जनपूर्ण बनाउने कम्पनीको विश्वास छ। सुरक्षातर्फ पनि नयाँ ओमोडा ई५ प्रो निकै सशक्त रहेको कम्पनीले जनाएको छ। यसमा १९ भन्दा बढी उन्नत चालक सहायता फिचर समावेश छन्। साथै, ५४० डिग्री दृश्य देखाउने क्यामेरा प्रणालीले चालकलाई थप सुरक्षा प्रदान गर्नेछ।

नयाँ ओमोडा ई५ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरियन्टका लागि ५१ लाख ५९ हजार रुपैयाँ र डुअल टोन भेरियन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T