काठमाडौं । पूर्वबैंकर अनलराज भट्टराईले निजी क्षेत्रले केही वर्षअघि ब्याजदर एकल अंकमा आए लगानी विस्तार गर्ने बताएको स्मरण गराउँदै हाल ब्याजदर निकै न्यून स्तरमा पुग्दा पनि अपेक्षित रूपमा लगानी नबढेको बताएका छन्।
नेपाल व्यवस्थापन संघ (म्यान)ले आयोजना गरेको मौद्रिक नीति पूर्व छलफल कार्यक्रममा बोल्दै उनले लगानीको सुरक्षा प्रत्याभूति नहुँदा निजी क्षेत्र कर्जा लिन उत्साहित नभएको बताए। उनका अनुसार अहिले अधिकांश बैंकमा पर्याप्त तरलता भए पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन।
भट्टराईले २० मध्ये १५–१६ वटा बैंक कर्जा विस्तार गर्न सक्षम अवस्थामा रहेको र औसत पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडे्क्वेसी रेसियो) नियामकीय सीमाभन्दा माथि रहेको बताए। भारतमा खराब कर्जाको प्रोभिजनिङ अवधि तीन वर्षसम्म रहने भए पनि नेपालमा एक वर्षमै व्यवस्था गर्नुपर्ने भएकाले बैंकहरू दबाबमा रहेको उनको भनाइ छ ।
राष्ट्र बैंकले अतिरिक्त तरलता बजारबाट खिच्नेभन्दा पनि त्यसको प्रभावकारी उपयोग कसरी गर्ने भन्नेमा केन्द्रित नीति ल्याउनुपर्ने उनले सुझाव दिए। हाल खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको र त्यसमा प्रत्यक्ष कर्जा (डाइरेक्ट लेन्डिङ) को हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै उनले यस विषयमा नियामकले विशेष ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बैंकिङ क्षेत्रमा पूँजीकोषमाथि दबाब बढिरहेको भन्दै यसको सम्बोधन मौद्रिक नीतिमार्फत हुनुपर्ने बताए।
उनले वित्तीय पहुँच विस्तारलाई पनि मौद्रिक नीतिको प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए। हाल देशको वित्तीय पहुँच करिब ६० प्रतिशतमा सीमित रहेको उल्लेख गर्दै यसलाई बढाउन विशेष पहल आवश्यक रहेको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्