Skip to content

पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ

काठमाडौं । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले धानको ब्याड राख्न नपाएको नेपालगञ्ज–१९ सुइयागाउँका किसान ललवा माहुतले बताए ।

सिँचाइको व्यवस्था नभएकाले किसानले धान रोप्न आकाश हेरेर बस्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ । “धान खेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ,” उनले सुनाए।

बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि बीउको ब्याड राखिएको छ ।

जानकी गाउँपालिकाको साइगाउँ, बेलभार क्षेत्रमा पर्याप्त बर्सात नभएका कारण किसानले अहिलेसम्म धान रोप्न नसकेको जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष मोहम्मद रजा राईले बताए ।

बाँकेमा सिँचाइको सुविधा पुगेको र वैकल्पिक उपाय गरेर हालसम्म करिब ४० प्रतिशत किसानले मात्रै धानको बीउ ब्याड राखेको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले जानकारी दिए । जिल्लामा करिब ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।

यहाँ सिक्टा सिँचाइ आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकाका र राप्तीसोनारी गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् ।

धानको बीउ राख्ने समयलाई दृष्टिगत गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी मनोज शाहले जानकारी दिए।

उनका अनुसार राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएकामा हालसम्म २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima