काठमाडौं । नेपाल रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापाले स्वार्थ समूहसँग मिलेर सरकारी कम्पनी डुबाउन खोजेको पाइएको छ । उनले हिमालयन रिइन्स्सोरेन्समा ठूला सेयरधनी दीपक भट्ट र शुलभ र शाहिल अग्रवालसँग मिलेर नेपाल रि डुबाउन खोजेको पाइएको हो ।
नेपाल रिले हिमालयन सेक्युरिटिज बैंकर सँग सम्झौता गरी ५ करोड रुपैयाँ फण्ड व्यवस्थापन दिएको उनले स्वीकारेका छन् । तर नेपाल रिको सेयर कारोवारमा प्रयोग हुने टीएमएस तथा पासवर्ड शुलभ अग्रवाल डाइरेक्टर रहेको सौर्य सिमेन्ट र उनका भाई शाहिल अग्रवाल रहेको जगदम्बा स्टिल्सको नाममा दर्ता रहेको वर्डलिक कम्युनिकेशनको 202.166.206.242 र सुविशु केवल लिमिटेडको आईपी ठेगाना 103.235.198.57 बाट सञ्चालन गरी सार्वजनिक कोषको रकमलाई दुरुपयोग गरेको पाइएको छ ।
अनधिकृत व्यक्तिले गलत लाभ लिने मनसायले ऋषि राज मोरको नामको टीएमएसबाट नेपाल रिलाई उनीहरुले सेयर बजारको मूल्य प्रभावित गरी उच्च मूल्यमा गार्डियन माइक्रो लाइफ इन्योरेन्सको १८ हजार ८०० कित्ता सेयर प्रतिकित्ता २६२१ रुपैयाँ ७४ पैसा मा शुलभ अग्रवाल समेतले योजनाबद्ध ढंगले विक्री गराई संस्थालाई हानि नोक्सानी र शुलभ अग्रवाल समेतका व्यक्तिहरुलाई लाभ पु-याउने कार्य गरेको पाइएको छ ।
ब्रोकर कम्पनीलाई दिएको पासवर्ड के कसरी अनधिकृत व्यक्तिले सञ्चालन गरेका हुन् भन्ने आफूलाई थाहा नभएको भन्दै उनी पन्छिन खोजेका छन् । ‘मैले व्यक्तिगत रुपमा अझ नेपाल रिइन्योरेन्स लि.को प्रमुख कार्यकारी अधिकृतको रुपमा रही सो हैसियतले काम गर्दा नेपाल रि. को रकम दुरुपयोग गर्ने मनसायले कुनै आदेश निर्णय गरी संस्थाको रकम दुरुपयोग गरेको छैन । धितोपत्र बजारमा लगानी गर्न दिएको रकम लगानी नीति अनुरुप दिएको हो । मैले व्यक्तिगत रुपमा कोही कसैलाई कसूर गर्ने वातावरण बनाएको छैन’ उनले भनेका छन् ।
थापा तथा भट्ट र अग्रवालको गलत मनसाय नेपाल रिइन्योरेन्सको सेयर आफू अनुकूल केन्द्रीकरण गरी सो कम्पनी नै आफ्नो नियन्त्रणमा ल्याउनु रहेको अनुसन्धानले देखाएको छ । अर्थ मन्त्रालयका नाममा ४४.०४ प्रतिशत सेयर कायम भई पब्लिक लिमिटेड कम्पनीको रुपमा संस्थापित नेपाल रिइन्योरेन्सका सञ्चालनको समग्र पक्षमा थापाले आर्थिक अनियमितता एवं हिनामिना सम्बन्धमा अनविज्ञता देखाएका छन् । थापालाई नेपाल रिमा सीईओ भने भट्टले नै तत्कालिन समयमा सरकारलाई दबाब दिएर बनाएका हुन् ।
संस्थाको प्रशासनिक नियन्त्रण एवं सञ्चालक समितिको निर्णय कार्यान्वयन गर्ने गराउने समेतका जिम्मेवारी वहन गर्नु पर्नेमा जिम्मेवारी, जवाफदेहिता र उत्तरदायित्वप्रति उदासिन रही कम्पनीको रकम हिनामिना गरी भट्ट र अग्रवाल सहितले लाभ लिई कम्पनी नै हात पार्ने योजना बनाई आफू अनुकूलका कम्पनीहरुलाई प्रयोग गरी हिमालयन लाइफ इन्योरेन्स समेतका बीमा कम्पनीमा नियामकीय अधिकारको दुरुपयोग गरेको पाइएको छ ।
नियामक निकायलाई गुमराहमा पारी आफूले प्रत्यक्ष रुपमा गर्न कानुनतः नमिल्ने कार्यलाई नेपाल बीमा प्राधिकरणबाट २०८१ असोज १० गते, २०८१ पुस २४ गते, २०८१ फागुन १ र २०८२ असार २२ गते निर्णय गरी नेपाल रिइन्योरेन्सको सेयर केन्द्रीकरण गरी नियन्त्रण गर्ने काम भएको छ । यसलाई अनदेखा गरी वित्तीय एवं बीमकको संस्थागत सुशासन कमजोर बनाई भट्ट, अग्रवाललाई व्यक्तिगत लाभ लिने कार्य गरेको देखिएको छ ।
थापाले आफू नेपाल सरकारको ४४.०४ प्रतिशत शेयर लगानी भएको संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी र जवाफदेहिता थाहा हुँदाहुँदै आफ्नो पदीय जिम्मेवारी प्रचलित कानुन बमोजिम पालना नगरी, बीमा ऐन, २०७९ को दफा ५८ मा उल्लिखित कानुनी व्यवस्था पालना नगरी एवं कानुनी कर्तव्यको उल्लंघन गरी नेपाल रि. को सेयर कारोवारमा प्रयोग हुने टीएमएस तथा पासवर्ड दुरुपयोग गरी योजनाबद्ध ढंगले विक्री गराई संस्थालाई हानि नोक्सानी र शुलभ अग्रवाल समेतका व्यक्तिहरुलाई लाभ पुऱ्याई कसूर गरेको पाइएको छ ।
थापाले दीपक भट्ट र शुलभ अग्रवाल समेतलाई सेयरको मूल्य हेरफेर गर्ने कार्यका लागि २०८२ साउन १४ गते पूर्व जानकारी रहेको भएपनि पुनः पूँजी बृद्धिको योजना र हकप्रद जारी गर्ने सूचना लिखित रुपमा प्रकाशन गरेर भट्ट समेतको नेपाल रिइन्योरेन्स हात पार्ने कार्यका लागि समान तरिकाले सहभागी भएको देखिएको छ । बीमा ऐन, २०७९ अन्तर्गतको कसूरजन्य कार्य भएको, सो कसूरजन्य कार्यमा उनीहरुले प्रत्यक्ष संलग्नता रहेको देखिएको छ ।
उनीहरुले यसरी आर्जन गरेको सम्पत्तिलाई सेयर कारोवारको आवरणमा कसूरबाट प्राप्त सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, कसूरबाट प्राप्त सम्पत्तिको सही प्रकृति, स्रोत र अधिकार एवं स्वामित्व लुकाउन त्यस्तो रकम प्राप्ति, धारण र प्रयोग समेत गरी तत्काल प्रचलित/ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को (क) (ख) ( ग ) ले निषेधित कार्यहरु गरी सम्पत्ति शुद्धीकरणको कसूर गरेको पाइएको छ ।
ऐनको दफा २९ समेतका आधारमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिनका साथै उक्त रकम सम्बन्धित कम्पनीलाई भराई दिन समेत दफा ३४क. बमोजिम नेपाल रिइन्योरेन्सलाई भराई दिन मागदावी लिन मनासिव देखिने उल्लेख छ ।
थापाले यस्तो सम्पत्तिलाई सेयर कारोवारको आवरणमा कसूरबाट प्राप्त सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, कसूरबाट प्राप्त सम्पत्तिको सही प्रकृति, स्रोत र अधिकार एवं स्वामित्व लुकाउन त्यस्तो रकम प्राप्ति, धारण र प्रयोग समेत गरी थापाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा १ को (क) (ख) (ग) ले निषेधित कार्यहरु गरी सम्पत्ति शुद्धीकरणको कसूर गरेको पुष्टी भएको अनुसन्धानले देखाएको छ ।









प्रतिक्रिया दिनुहोस्