Skip to content

राष्ट्र बैंकले गर्यो सीईओ तथा सञ्चालक नियुक्तिमा कडाइ, व्यक्तिगत तथा वित्तीय विवरण अनिवार्य 

५ प्रतिशतभन्दा बढी सेयरधनीकाे वास्तविक धनी विवरण अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उच्च व्यवस्थापकीय तहका पदाधिकारी नियुक्ति तथा मनोनयन प्रक्रियामा कडाइ गरेको छ। राष्ट्र बैंकले यस्ता नियुक्तिमा विस्तृत व्यक्तिगत, कानुनी तथा वित्तीय विवरण अनिवार्य रूपमा संकलन गरी राष्ट्र बैंकमा पेश गर्नुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनअनुसार इजाजतपत्रप्राप्त संस्थाले सञ्चालक, सीईओ तथा उच्च व्यवस्थापन तहमा नियुक्ति वा मनोनयन गर्दा सम्बन्धित व्यक्तिबाट प्रचलित कानुनबमोजिमको योग्यता तथा मापदण्ड पूरा गरेको स्वघोषणा, पारिवारिक विवरण, नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए–नभएको जानकारी, मुद्दा–मामिला, अनुसन्धान वा प्रशासनिक कारबाहीमा संलग्नता सम्बन्धी विवरण लिनुपर्नेछ।
यसैगरी, अदालत वा अधिकारप्राप्त निकायको आदेशबमोजिम तिर्नुपर्ने राजस्व तथा सरकारी बक्यौता, कर्जा कालोसूचीमा परेको वा नपरेको अवस्था, सम्भावित स्वार्थको द्वन्द्व, विदेशमा रहेको सम्पत्ति तथा त्यसमा वास्तविक धनी वा हिताधिकारी रहेको–नरहेको विवरणसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
निर्देशनले सम्बन्धित व्यक्तिको विगतको कार्य अनुभव, जिम्मेवारी, पुरस्कार, सजाय तथा कार्यसम्पादनका उपलब्धिहरूसहित वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरणसमेत अनिवार्य गरेको छ।
हाल कार्यरत सञ्चालक, सीईओ तथा उच्च व्यवस्थापन तहका पदाधिकारीले समेत उक्त विवरण राष्ट्र बैंकमा बुझाउनुपर्नेछ। साथै, विवरणमा परिवर्तन भएमा अद्यावधिक जानकारी समेत राष्ट्र बैंकमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले संस्थापक सेयर स्वामित्वका विषयमा समेत नयाँ व्यवस्था गरेको छ। अब एक पटक वा पटक–पटक गरी चुक्ता पूसजीको पाँच प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको संस्थापक सेयर खरिद वा नामसारी गर्दा वास्तविक धनी (बेनेफिसियल ओनर) सम्बन्धी विस्तृत विवरण अनिवार्य रूपमा संकलन गर्नुपर्नेछ।
यसअन्तर्गत लगानीकर्ताले आफ्नो परिचय, ठेगाना, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारी सम्बन्धी जानकारी, आपराधिक पृष्ठभूमि, मुद्दा–मामिला, सरकारी बक्यौता, कर्जा कालोसूची, स्वार्थको द्वन्द्व, विदेशस्थित सम्पत्ति तथा वित्तीय आचरणसम्बन्धी विवरण पेश गर्नुपर्नेछ।
सेयरधनी संस्था भएको अवस्थामा उक्त संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एकल, संयुक्त वा समूहगत रूपमा १५ प्रतिशत वा सोभन्दा बढी सेयर वा पुँजी लगानी गरेका वास्तविक धनी वा हिताधिकारीको विवरणसमेत राष्ट्र बैंकमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्देशन जारी हुँदाका बखत पाँच प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी संस्थापक सेयर धारण गरेका व्यक्ति तथा सम्बन्धित वास्तविक धनी वा हिताधिकारीले समेत सोही प्रकृतिका विवरण राष्ट्र बैंकमा बुझाउनुपर्नेछ। साथै, विवरणमा कुनै परिवर्तन भएमा अद्यावधिक जानकारी पेश गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi