काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालले असार ६ र ७ गते (सन् २०२६ जुन २०–२१) मा ललितपुरको हेरिटेज गार्डेनमा ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ आयोजना गर्ने भएको छ । महासंघले महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, तथा सहकारी क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्नलागेको हो ।
संयुक्त राष्ट्रसंघले सन २०२६ लाई ‘अन्तर्राष्ट्रिय कृषक महिला वर्ष’ घोषणा गरेको पृष्ठभूमिमा यो सम्मेलन झनै सान्दर्भिक बन्ने महासंघको अपेक्षा रहेको छ । नेपालमा ग्रामीण क्षेत्रमा ८० प्रतिशतभन्दा बढी महिलाहरू प्रत्यक्ष कृषि कार्यमा संलग्न छन् । नेपालमा सञ्चालनमा रहेका ३२ हजारभन्दा बढी सहकारी संस्थाहरुमा करिब ५६ प्रतिशत महिलाको सक्रिय सहभागिता रहेको छ ।
विशेषगरी कृषि सहकारीमा महिलाको नेतृत्व र योगदान उल्लेखनीय रहेको छ । महिलाहरुले साना बचत समूहहरूबाट प्रारम्भ गरी सहकारी संस्थाहरूको वित्तीय आधार सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नियमित बचत, अनुशासित वित्तीय व्यवस्थापन तथा ऋणको उत्पादनमुखी उपयोगमा उनीहरुको भूमिका उदाहरणीय छ ।
यसैगरी कृषि, पशुपालन, साना तथा घरेलु उद्योग, हस्तकला तथा खुद्रा व्यापार जस्ता क्षेत्रमा महिलाहरुले सहकारीमार्फत लगानी तथा उद्यम सञ्चालन गरी ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । सहकारी संस्थाहरुमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदहरुमा महिलाको सहभागिता बढ्दै गएको छ । यसले संस्थागत सुशासन तथा नीति निर्माण प्रक्रियामा महिलाको प्रतिनिधित्व सुदृढ बनाएको छ ।
ग्रामीण अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेको सहकारी क्षेत्रले महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । बचत तथा ऋण सेवामार्फत आर्थिक सशक्तीकरण तथा आर्थिक पहुँच बृद्धि गर्नुका साथै महिला लक्षित उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गरेको छ । सहकारीले आत्मनिर्भरता, आत्मविश्वास तथा स्वाभिमान अभिवृद्धि गर्नमा ठूलो टेवा पु¥याएको छ ।
यसैगरी महिला सकारीकर्मीहरुको नेतृत्व विकास गरेर निर्णय प्रक्रियामा सहभागिता विस्तार गर्नमा अहम् भूमिका खेलेको सहकारीले सामाजिक चेतना, अधिकार तथा स्वास्थ्य शिक्षाको प्रवद्र्धन गर्ने कार्यमा योगदान दिएको छ । साथै महिलाहरुलाई पारिवारिक तथा सामुदायिक निर्णय प्रक्रियामा सक्रिय सहभागी बनाउँदै आएको छ ।
सम्मेलनले महिला किसान तथा सहकारीकर्मीको योगदानलाई उजागर गर्ने, लैंगिक उत्तरदायी नीति तथा अभ्यासलाई सुदृढ पार्ने, महिला नेतृत्व विकास र संस्थागत सहभागिता वृद्धि गर्ने, तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरुको आदान–प्रदान गर्ने मुख्य उद्देश्य लिएको छ । यसैगरी, उद्यमशीलता, रोजगारी, बजार पहुँच विस्तार, नीति संवाद र वकालतलाई प्रोत्साहन गर्ने, तथा अन्तर्राष्ट्रिय सहकार्य र नेटवर्किङ विस्तार गर्ने पनि यसका विशेष लक्ष्य रहेका छन् ।
सम्मेलनका क्रममा नीति संवाद तथा कार्यपत्र प्रस्तुति, महिला सहकारीबाट उत्पादित वस्तुको प्रदर्शनी, उत्कृष्ट महिला सहकारी उद्यमीहरुलाई सम्मान, सहकारी अवलोकन भ्रमण, सांस्कृतिक कार्यक्रम तथा विश्व सम्पदा अवलोकन, र ऐच्छिक हिमाली दृश्यावलोकन लगायतका विशेष कार्यक्रमहरु समेत आयोजना गरिनेछ । यी कार्यक्रमहरुले सहकारी क्षेत्रका महिलाको सिप, उत्पादन, र नेतृत्व क्षमतालाई व्यापक रूपमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
महासंघले भूमि व्यवस्थापन, सहकारी तथा संघीय मामिला मन्त्रालयसंग सहकार्य गरेर आयोजना गर्ने सम्मेलनमा राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, साना किसान विकास लघुवित्त संस्था, आईएलओ नेपाल कन्ट्री अफिस र हेफर इन्टरनेशन सह–आयोजक रहेका छन् ।
यस्तै विषयगत केन्द्रीय, प्रदेश र जिल्लास्तरीय सहकारी संघहरुको समेत सहयोग रहने कार्यक्रममा विभिन्न प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहने छ ।
‘काठमाडौं घोषणापत्र–२०२६’ जारी गर्दै सम्पन्न हुने यस सम्मेलनले सहकारीमार्फत महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता तथा सामाजिक समावेशीकरणमा महत्वपूर्ण योगदान पु¥याउने आशा राखिएको छ । साथै महिला नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै दिगो कृषि प्रणाली, लैंगिक समानता तथा सहकारी सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । यस सम्मेलनले ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष–२०२६’ को उद्देश्यलाई सार्थक बनाउँदै नेपाललाई अन्तर्राष्ट्रिय सहकारी संवाद तथा महिला नेतृत्व विकासको महत्वपूर्ण केन्द्रका रुपमा स्थापित गर्ने विश्वास लिईएको छ ।









प्रतिक्रिया दिनुहोस्