काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाहले सरकारको गाडी गन्तव्यमा पुगेर रोकिने बताएका छन् ।
आज पार्टीको पहिलो अधिवेशनमा चितवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका शाहले सरकारको गाडी अनियन्त्रित नभएको र नियन्त्रणमा रहेको दाबी गरे ।
उनले जनताले रास्वपालाई केन्द्रमा ल्याएको भएर जनतासँधै केन्द्रमा रहने उल्लेख गरे । उनले रास्वपा लेफ्ट, राईट केही नभएर विकास गर्ने पार्टी भएको, पुराना कुरा सम्झेर निउ खोज्ने पार्टी नभएको दाबी गरे ।
सरकारी सम्पत्ति दोहन भएको भए निउ खोज्ने, केही सरसल्लाह गर्नुपर्ने भए अख्तियारलाई ५ घन्टा हैन ५ वर्ष सँगै राखेर सोधपुछ गर्ने बताए ।
प्रधानमन्त्री शाहले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्दै ती भूभाग नेपालकै भएको प्रमाण सरकारसँग रहेको बताए ।
“हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ, तर ब्रिटिसकालीन शासनका समयमा यससम्बन्धी कुनै प्रमाण छ भने सहयोग लिन खोजेका हौँ”, उनले भने, “हामी छिमेकीसँग आफैँ कुरा गरेर सीमासम्बन्धी विषय मिलाउँछौँ, हामीसँग हाम्रो भूभाग रहेको प्रमाण छ । त्यसमा आशङ्का लिनु पर्दैन ।” आफ्नो राष्ट्रियताप्रतिको दृष्टिकोणमा कसैले पनि आशङ्का मान्नु नपर्नेमा उनको प्रष्टीकरण थियो ।
उनले सुकुम्बासीको समस्या, सहकारीको समस्या यही कार्यकालमा सक्ने र अर्को चुनावमा यस्तो एजेन्डा लिएर नजाने दाबी गरे ।
उनले पार्टीभित्र अहिले गुट बनाउने काम नगर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्