काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबिचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मर्जरको अन्तिम तयारीमा रहेका दुई कम्पनीले एकीकृत कारोबार असार २६ गतेदेखि सञ्चालन गर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रार कार्यालयबाट मर्जरको अन्तिम स्वीकृति प्राप्त भएपछि २०८३ असार ११ गते बसेको संयुक्त मर्जर समितिको बैठकले असार २६ गतेदेखि एकीकृत कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो।
यसैबीच, नेपाल धितोपत्र बोर्डबाट जारी ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को विनियम ९(२) बमोजिम सेयर मिलान, धितोपत्र पुनःदर्ता, धितोपत्रको अभौतिकरण (डिम्याट) तथा सूचीकरण प्रयोजनका लागि कम्पनीको सेयर कारोबार असार २६ गतेदेखी रोक्का राखिएको छ।
यसैगरी, एकीकृत कारोबार सुरु गर्न आवश्यक डाटा माइग्रेशन लगायतका प्राविधिक कार्य सम्पन्न गर्न असार २५ गते बिहीबार एक दिनका लागि पोखरा फाइनान्स र समृद्धि फाइनान्सका केन्द्रीय कार्यालय तथा सम्पूर्ण शाखाबाट प्रदान हुँदै आएका सबै बैंकिङ सेवा बन्द रहने कम्पनीले जानकारी दिएको छ ।
मर्जरपछि बन्ने पोखरा फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित साविकको समृद्धि फाइनान्सको कार्यालयमा रहने कम्पनीले जनाएको छ।
मर्जरपछि कायम रहने संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड रहने कम्पनीले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्