Skip to content

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन, रारा पर्यटन र सञ्चार पहुँचमा नयाँ आयाम

काठमाडौं । नेपाल टेलिकमले मुगु जिल्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य मुर्माटपमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार २०८३ असार १५ गतेदेखि सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित मुर्माटप रारातालको अनुपम दृश्यावलोकनका लागि चर्चित गन्तव्य हो। रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थानबाट राराताल, हिमशृंखला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मनोरम प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिन्छ।

फोरजी सेवा विस्तारसँगै अब मुर्माटप पुग्ने पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूले उच्च गतिको मोबाइल इन्टरनेट सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन्। यस सेवाले मुर्माटप क्षेत्रसँगै ट्रेकिङ रुटमा पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउने नेपाल टेलिकमले जनाएको छ। यसबाट पर्यटकहरूले आफ्ना यात्रा अनुभव, तस्बिर, भिडियो तथा लाइभ अपडेट सामाजिक सञ्जालमार्फत सहज रूपमा साझा गर्न सक्नेछन्।

कम्पनीका अनुसार आधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय होटल, होमस्टे, व्यवसायी तथा सेवाग्राहीहरूले विभिन्न डिजिटल सेवाको उपयोग अझ सहज रूपमा गर्न सक्नेछन्, जसले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

फोरजी सेवा सञ्चालनका लागि जडान गरिएको टावरले मुर्माटप क्षेत्रमा मात्र सेवा नदिई हुम्ला, बाजुरा लगायतका दुर्गम हिमाली जिल्लामा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेशनका रूपमा समेत काम गर्नेछ। यसबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमका मोबाइल तथा डाटा सेवाको गुणस्तर र पहुँच थप सुदृढ हुने कम्पनीको विश्वास छ।

नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’ भन्ने आफ्नो दायित्वअनुसार देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म आधुनिक दूरसञ्चार सेवा तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि सेवाको पहुँच, गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्दै डिजिटल नेपालको परिकल्पनालाई साकार बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

उल्लेखनीय छ, नेपाल टेलिकमले यसअघि २०७६ मंसिर १९ गतेदेखि राराताल क्षेत्रमा फोरजी सेवा पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको थियो। मुर्माटपमा सेवा विस्तार भएसँगै रारा क्षेत्रको सञ्चार पूर्वाधार थप सुदृढ बनेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi