काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२–८३ मा ६ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दै नेपाली निर्जीवन बीमा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
कम्पनीका अनुसार यो उपलब्धिले नेपालको बीमा क्षेत्रको दायरा विस्तार गर्न, बीमाको पहुँच वृद्धि गर्न तथा राष्ट्रको आर्थिक जोखिम व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन कम्पनीले पुर्याएको योगदानलाई समेत प्रतिबिम्बित गरेको छ।
स्थापनाकालदेखि नै बीमाको पहुँच विस्तार, नवीन बीमालेखको विकास तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको शिखर इन्स्योरेन्सले हाल देशभरका ७३ जिल्लामा फैलिएको १३१ वटा कार्यालय सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीले बीमाको पहुँच वृद्धि तथा वित्तीय समावेशीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
कम्पनीको सफलताका आधारमा सुदृढ वित्तीय अवस्था, सक्षम व्यवस्थापन, व्यावसायिक जनशक्ति, उच्चस्तरीय पुनर्बीमा व्यवस्था, छिटो तथा पारदर्शी दाबी भुक्तानी प्रणाली, प्रविधिमैत्री सेवा, ग्राहक केन्द्रित कार्यसंस्कृति, संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यवस्थापन अभ्यासलाई प्रमुख रूपमा लिइएको छ।
यस उपलब्धिमा साथ र विश्वास प्रदान गर्ने ग्राहक, अभिकर्ता, सर्भेयर, पुनर्बीमक, सेयरधनी, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाप्रति कम्पनीले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
कम्पनीले आगामी दिनमा पनि नवीनता, उत्कृष्ट सेवा, सुशासन तथा व्यावसायिक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई निरन्तर कायम राख्दै नेपालको बीमा क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।









प्रतिक्रिया दिनुहोस्