काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याउने मौद्रिक नीति कसिलो हुनुपर्ने कुनै कारण नभएकाले लचिलो नै हुुनु पर्ने बताएका छन् ।
आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा मौद्रिक नीतिका विषयमा छलफल गर्दै यस्तो बताए । उनले मूल्य स्थिरता र बाह्य क्षेत्रको अवस्था सन्तोषजनक रहेको बताए । उनले ब्याजदर तथा अन्य मौद्रिक उपकरण अहिले कसिलो बनाउन नपर्ने सुझाव दिए ।
“मौद्रिक नीति अलिकति प्राविधिक विषय र अत्यन्तै अनुमानयोग्य विषय हो । मौद्रिक नीतिको कार्यदिशा कस्तो रहने भन्ने समग्र वस्तुस्थिति देशभित्र के–कस्तो छ र बाह्य स्थिति के हो ? त्यसले तय गर्छ” उनले भने “कस्तो मौद्रिक नीति आउला भनेर हामीले सिधै आकलन गर्न सक्छौँ । केन्द्रीय बैंकको म्यान्डेट भित्रको विषय मूल्य स्थिति र बाह्य क्षेत्रको स्थायित्वको विषयमा देश सबल अवस्थामा रहँदा आउने मौद्रिक नीति स्वभावैले लचिलो रहन्छ । कसिलोपन राख्नुपर्ने आवश्यकता छैन ।”
बैंक दर, पोलिसी रेट, निक्षेप संकलनका लागि तोकिएको रेटमा केन्द्रीय बैंकले थप कडाइ गर्नुपर्ने स्थिती नरहेको उनको तर्क छ । वर्तमान अवस्थामा राष्ट्र बैंकले बैंक दर, नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कडा बनाउने आधार नदेखिएको, राष्ट्र बैंकभित्र उच्चस्तरीय प्राविधिक विश्लेषण र विस्तृत छलफलपछि मात्र मौद्रिक नीति निर्माण हुने अधिकारीले जानकारी गराए ।
अधिकारीले आन्तरिक उत्पादन वृद्धि र अर्थतन्त्र सुधारका लागि विगतमा लागू गरिएका नीतिहरू सहजताको नाममा हटाउन नहुने बताए ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, मासिक करिब साढे दुई खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको र लगानीयोग्य स्रोत प्रशस्त भएकै कारण उत्पादनमुखी नीतिहरू खारेज गरिएमा भविष्यमा त्यस्ता नीति पुन: कार्यान्वयन गर्न कठिन हुने अधिकारीले बताए ।
उनले आर्थिक सुधारलाई नै ध्यान दिने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्