Skip to content

समयमै काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोडिँदै

सुर्खेत । पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजन सुर्खेतले ठेक्का तोडने प्रक्रिया अगाडि बढाएको छ । सडक डिभिजन सुर्खेतले सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ ।

पटकपटक लिखित तथा मौखिक रूपमा ताकेता, निर्देशन र म्याद थप गर्दा पनि तोकिएको अवधिभित्र काम सम्पन्न नभएपछि सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौताको शर्तअनुसार सम्झौता अन्त्य गरिएको डिभिजनका सूचना अधिकारी रुपेश केसीले जानकारी दिए ।

डिभिजनले सार्वजनिक सूचनामार्फत सुर्खेतमा सञ्चालित चारवटा सडक तथा पुल निर्माण आयोजनाको ठेक्का रद्द गरिएको जानकारी दिएको हो । सूचनाअनुसार निर्माण व्यवसायीले सम्झौताअनुसारको दायित्व पूरा नगरेको, पटकपटक काम सम्पन्न गर्न आग्रह गर्दा पनि अपेक्षित प्रगति नभएकाले कानुनी व्यवस्थाबमोजिम सम्झौता अन्त्य गरिएको उल्लेख छ । सम्झौता अन्त्य गरिएका आयोजनामध्ये सहारे स्वास्थ्यचौकी–बेतेनी सडकअन्तर्गत गोचे खोलामाथि प्रि–स्ट्रेस्ड आरसिसी मोटरेबल पुल निर्माणको जिम्मा एमएस एड्भेन्चर जेभी बाँकेले पाएको थियो । त्यसैगरी, गुमी–पातिहाल्ना सडकअन्तर्गत भलुकुने खोलामा प्रिस्ट्रेस्ड आरसिसी पुल निर्माणको जिम्मा जयबुद्ध–नेपाल मेगा बिल्डर्स जेभी सुर्खेतलाई दिइएको थियो ।

यस्तै, सुर्खेत–जुम्ला सडकअन्तर्गत दैलेखको खुर्रा खोलामा आरसिसी पुल निर्माणको ठेक्का टिडीआर कन्स्ट्रक्सन प्रालि धनगढीले लिएको थियो भने रत्न राजमार्गअन्तर्गत हर्रे–बाङ्गेसिमल खण्डमा सडक पुन:स्थापना, नाला निर्माण तथा सडक संरक्षणको काम जनता बिल्डर्स भेरीगङ्गा–९ सुर्खेतले गरिरहेको थियो । यी चारवटै आयोजनामा सन्तोषजनक प्रगति नभएपछि ठेक्का सम्झौता अन्त्य गरिएको सूचनामा उल्लेख छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) तथा ठेक्का सम्झौताको जिसीसी अन्तर्गतका सम्बन्धी व्यवस्थाअनुसार ठेक्का अन्त्य गरिएको डिभिजनले जनाएको छ । साथै, सार्वजनिक खरिद नियमावलीअनुसार पोस्ट टर्मिनेसन इभालुएसन गरी कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने र सरकारलाई हुन गएको आर्थिक क्षति सम्बन्धित निर्माण व्यवसायीबाट असुलउपर गरिने पनि सूचनामा उल्लेख छ ।

डिभिजनले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित निर्माण व्यवसायीलाई कार्यालयमा सम्पर्क गरी वित्तीय फरफारक प्रक्रिया सम्पन्न गर्न आग्रह गरेको छ । पछिल्लो समय निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा सडक तथा पुल आयोजना लम्बिने समस्या बढ्दै गएको भन्दै सरकारले रुग्ण ठेक्कामाथि कडाइ गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi