Skip to content

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० बढी नयाँ लन्च हुने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको छ ।

एक्सपो साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्सपोका रूपमा आयोजना हुने यस प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च रहनेछन्। एक्सपोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू समेटिनेछन्।

नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ सदस्य कम्पनीबाट सुरु भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिइन् । उनका अनुसार, यो वृद्धि उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, एकीकृत प्लेटफर्मको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकाको स्पष्ट प्रतिबिम्ब हो।

अध्यक्ष वैद्यले एक्सपोमा मात्र सीमित नभई मोबिलिटी, पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह र आर्थिक वृद्धिसँग जोडिएको नाइमाको समग्र कार्यदिशामा प्रतिबिम्बित भएको बताइन् । उनले मोबिलिटी सुधारिँदा अवसरहरू विस्तार हुने तथा मानिसका गतिविधि र व्यवसाय सहज रूपमा चलायमान हुन सके देश अघि बढ्ने उल्लेख गरिन् ।

उनले गत वर्ष नाइमाले मोबिलिटी क्षेत्रको सुधारका लागि निरन्तर वकालत, पहिलो संस्करणको एक्सपो सफलतापूर्वक सम्पन्न, काठमाडौं उपत्यकाका १,६१० ट्राफिक प्रहरी कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सहयोग, हालैका प्रदर्शनका क्रममा गम्भीर क्षति पुगेका कार्यालयहरूको पुनर्निर्माणका लागि आकस्मिक सहयोग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा यातायात व्यवस्था विभागलाई सहयोग लगायतका महत्वपूर्ण कार्य गरेको जानकारी दिइन् ।

नाइमाले सरकारी निकायहरूसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, जनचेतना कार्यक्रम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशालाहरू सञ्चालन गर्दै आएको उनले बताइन् । एक्सपोको टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप तथा तालिम पहलका लागि छुट्याइने र सो फेलोसिपमार्फत तयार हुने अनुसन्धान तथा लेखहरू नाइमा मोबिलिटी जर्नलमा प्रकाशित गरिने पनि उनले बताइन् ।

पत्रकार सम्मेलनमा सदस्य तथा उद्योग सरोकारवालाहरूबाट आएको उच्च मागलाई ध्यानमा राख्दै नाइमाले कमर्सियल मोबिलिटी ब्रान्ड र सम्बन्धित सरोकारवालाहरूलाई लक्षित गरी थप मोबिलिटी एक्सपो आयोजना गर्ने विषयमा पनि विचार गरिरहेको जानकारी दिइयो । स्थान अभावका कारण केही इच्छुक सदस्य तथा सरोकारवालाहरूलाई स्टल उपलब्ध गराउन नसकिएकोमा अध्यक्ष वैद्यले दु:ख व्यक्त गर्दै नेपालमा अझ ठूलो र आधुनिक प्रदर्शनी पूर्वाधार आवश्यक रहेको बताइन् ।

यस वर्षको एक्सपोको अर्को प्रमुख आकर्षण नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अडोटोरियम हलमा लर्निङ सेसनहरु आयोजना हुनेछन्। यी सेसनहरुमा सहभागी हुन कुनै शुल्क तिर्नुपर्दैन । यी सत्रहरू विज्ञ, पेशाकर्मी, शिक्षाविद्, उद्योग नेतृत्व तथा प्रभावशाली व्यक्तित्वहरूको नेतृत्वमा सञ्चालन हुनेछन्। सत्रहरूमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप, रोजगारी र नेपालको मोबिलिटी क्षेत्रको भविष्यजस्ता विषय समेटिनेछन्।

यसैगरी, एक्सपोमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड इन्स्योरेन्स पार्टनर, बोस नेपाल प्रविधि पार्टनर, पठाओ प्राइभेट लिमिटेड राइड पार्टनर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट एजुकेसन पार्टनर, एजाइल इन्जिनियरिङ सोलुसन्स प्रा.लि. र अग्नि इनर्जी प्रा.लि. चार्जिङ पार्टनर, एक्वा मिनरल्स प्रा.लि. हाइड्रेसन पार्टनर, आईएमई खल्ती लिमिटेड टिकटिङ पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर, नर्भिक इन्टरनेसनल अस्पताल हेल्थ पार्टनर, वत्सल इम्पेक्स प्रा.लि. सर्भिलेन्स पार्टनर, हिट्को प्राइभेट लिमिटेड अग्नि तथा सुरक्षा पार्टनर, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड कनेक्टिभिटी पार्टनर, पायोनियर इभेन्ट म्यानेजमेन्ट अडियो–भिजुअल पार्टनर, युनियन पे क्यूआर पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर, एटीएस नेपाल सवारी सुरक्षा तथा पार्किङ समाधान पार्टनर, प्रफिट मिडिया प्रकाशन पार्टनर तथा मिडिया स्पेस सोलुसन्स इभेन्ट म्यानेजमेन्ट पार्टनरका रूपमा आबद्ध छन्।

पत्रकार सम्मेलनमा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमा एक्स्पोलाई प्रदर्शनी र सिकाइको उत्कृष्ट र बृहत स्थल बनाउन चाहेको बताए । नाइमाले परिवार, विद्यार्थी, पेशाकर्मी, उद्यमी, नीति निर्माता, सञ्चारकर्मी तथा आम सर्वसाधारणलाई ११ देखि १६ अगस्ट २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्सपोमा सहभागी भई नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्लेटफर्मको हिस्सा बन्न आमन्त्रण गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi