Skip to content
Prabhu

३२ वर्षदेखि भाडाको भवनबाट सञ्चालन भइरहेको धितोपत्र बोर्ड, कहिले बन्ला आफ्नै घर ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शुक्रबार आफ्नो ३२ औँ वार्षिक उत्सव मनाएको छ । ३२ वर्षको समय पार गर्दा पनि बोर्डले आफ्नो घर निर्माण गर्न सकेको छैन । बोर्डलाई आफ्नो घर नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यतामा रहेको छ ।

बोर्डको आफ्नै घर नहुँदा सेवा प्रवाहमा समस्या भएको धितोपत्र बोर्डका कर्मचारीहरुले गुनासो गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजना गरिएको वार्षिक उत्सव कार्यक्रममा बोल्ने कर्मचारीहरुले सहज, सरल र प्रविधि मैत्री सेवा प्रवाह गर्नका लागि आफ्नै भवन आवश्यक रहेको बताएका छन् ।

बोर्डको आफ्नै भवन नहुँदा कर्मचारीको क्षमता अभिवृद्धिमा पनि असर परेको धितोपत्र बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले बताए । ‘बोर्ड विगत ३२ वर्षदेखि आफ्नो भवन नरहेको अवस्थामा स्थायी रुपमा कार्यालय सञ्चालन गर्न सकिएको छैन्,’ उनले भने । पुँजी बजारको महत्वपूर्ण भूमिकामा रहेको निकायलाई उपयुक्त स्थानमा जग्गाको व्यवस्था गरिदिन उनले सरकारसँग माग समेत गरे । जग्गाको व्यवस्था गरिदिएको खण्डमा आफ्नै स्रोतबाट भवन बनाउने उनको भनाइ थियो ।

त्यस्तै नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलले पनि आफ्नै भवन नहुनु दुःखत भएको बताएका छन् । हरेक वर्ष आफ्नै भवनको विषयमा कुरा उठ्ने गरेको भए पनि त्यसले सार्थकता पाउन नसकेको उनको गुनासो थियो । ‘वार्षिक उत्वसका अवसरमा हरेक पटक बोर्डको भवनको विषयमा चर्चा हुने गरेको छ । ३२ वर्ष सम्म आफ्नो भवन नहुँदा पटक–पटकको ठाउँसारीले गर्दा बोर्डको काम काजमा असहजता उत्पन्न भइरहेको छ,’ उनले भने ।

राज्यको विकासका लागि पुँजी परिचालन गर्ने निकायका रुपमा रहेको बोर्डको आफ्नो भवन नुहुदा संस्थागत क्षमता अभिवृद्धि हुन नसकेको उनको भनाइ थियो । ‘राज्यको आर्थिक विकासको लागि पुँजी परिचालन गर्ने अभिन्न अंकका रुपमा बोर्ड रहेको छ । जसले ७ सयभन्दा बढी संस्थालाई प्रत्यक्ष निगरानी गर्छ । यसोको आफ्नै भनव नहुँदा संस्थागत क्षमता अभिवृद्धिमा असर गरिरहेको छ,’ उनले भने । भवन निर्माणका लागि बोर्ड नेतृत्व र मन्त्रालले समयमा नै सोच्नु पर्ने उनको भनाइ छ ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजुबाबू जिसिले पनि बोर्डको आफ्नो भवन नुहुदा सेवा प्रवाहमा समस्या समस्या भइरहेको बताए । यसको लागि सरकारले सहजिकरण गरिदिनु पर्ने उनको भनाइ थियो । ‘बोर्डको संस्थागत सुशासनको लागि आफ्नो भनव अपरिहार्य रहेको छ,’ उनले भने, ‘संस्थागत सुशासनको लक्ष्य प्राप्तीका लागि सर्बवर्थम कर्मचारीको क्षमता अभिवृद्धि गर्नु पर्ने होला, संस्थागत क्षमता अभिवृद्धि गर्दै गर्दा प्रविधिको कुरा पनि आउला, यी कुराको लागि भाडाको घरमा बसेर कत्तिको सम्भव होला ।’

लामो समयदेखि उठाउँदै आएको भवनको कुरा समाधान नहुँदासम्म बोर्डको लक्ष्यमा पुग्नलाई समस्या पर्ने उनको धारणा छ । भवन नहुँदासम्म प्रविधिमैत्री र अन्तराष्ट्रिय मापदण्ड अनुसारको कार्य सम्भव नहुनेको उनको भनाइ थियो ।

‘संस्थागत सुशासनको लागि ध्यान दिनुपर्छ । त्यसका लागि भवनको आवश्यक रहेको छ । प्रविधि मैत्रि पनि हुनु पर्ने होला । यसका लागि संस्थाको आफ्नै भवन पनि आवश्यक हुन्छ,’ जिसीले भने ।

कार्यक्रममा बोल्दै नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाले पनि बोर्डको भनव नहुन दुःखत भएको बताए । कुनै पनि निकायको आफ्नै स्थायीत्व नभएसम्म कर्मचारीको मनोबल नबढ्ने भन्दै यसमा सम्बन्धित निकायले ध्यान दिनु पर्ने उनको भनाइ छ । सरकारी निकाय भएकाले समन्वय गरेर जग्गा व्यवस्थापन गरेर भवन निर्माण गर्नु पर्ने उनको धारणा थियो ।

त्यस्तै अर्थ मन्त्रालयका राजस्व सचिव डा. डा रामप्रसाद घिमिरेले बोर्डको भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्ति गरेका छन् । बोर्डको भवन निर्माणका लागि अर्थमन्त्रालले गम्भिरताका साथ लिएको उनको भनाइ थियो । ‘भवन निर्माणका लागि जग्गा प्राप्तीका लागि मन्त्रालयले सहजिकरण गर्छ, जसबाट भवन निर्माणमा सहयोग पुग्छ,’ उनले भने ।

यता धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले पनि बोर्डको भवन निर्माणको लागि आफूले पहल गर्ने बताएका छन् । आफू बोर्डमा आउनेबित्तिकै उपत्यका प्राधिकरणसँग जग्गा किन्ने विषयमा पैसा दिएको ३ वर्ष वितिसकेको अवस्थामा यो कुरालाई अगाडि बढाउने रानाको भनाइ थियो । यस विषयमा अर्थमन्त्रालयसँग पनि समन्वय गरेर काम अघि बढाइने उनले बताए ।

अध्यक्ष नहुँदा नेपाल धितोपत्र बोर्डको काम प्रभावित

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नहुँदा सेवा प्रवाहमा समस्या भएको बोर्डका कर्मचारीहरुले बताएका छन् । बोर्डको ३२ औँ वार्षिक उत्वसको अवसमार आयोजित कार्यक्रममा बोल्ने बोर्डका कर्मचारीहरुले अध्यक्ष नहुदा कार्य सम्पादनमा समस्या भएको बताएका हुन् ।

बोर्डको अध्यक्ष नहुँदा समस्या भएको र यसले गर्दा लगानीकर्तामा पनि समस्या भइरहेको नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलको भनाइ छ । बोर्डको पूर्णकालिन अध्यक्ष नआएसम्म बोर्डको समस्या समाधान नहुने अध्यक्ष पौडेलले बताए । अर्थमन्त्रालयबाट आएको प्रतिनिधिले अध्यक्षको जिम्मेवारी लिए पछि तत्कालका लागि समस्या समाधना भए जस्तो देखिए पनि दीर्घकालीन रुपमा नियमकारी निकायको रुपमा हुने पर्ने कार्य कमजोर हुने उनको भनाइ थियो । ‘लामो समयसम्म अध्यक्षको पद रिक्त रहँदा पुँजी विस्तार र विकासमा गर्नु पर्ने काम समयमा नहुने सम्भावना देखिएको छ । लामो समय बोर्ड पूर्णकालिन अध्यक्षविहीन हुँदा कार्यसम्पादनमा असर गरि सम्पूर्ण वित्तीय प्रणालीमा असर परी पुँजी बजारमार्फत हुने पुँजी परिचालन, लगानीकर्ताको हकहित संरक्षण, बजारको विस्तार र विकासमा नकारात्मक असर पर्ने देखिन्छ,’ उनले भने । यस्तो अवस्थालाई मध्यनजर गरी यथाशिघ्र अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढाउन उनले सरकारसँग मागसमेत गरे ।

बोर्डमा स्थायी नेतृत्व नहुँदा सरकारले पनि धितोपत्र बोर्डलाई महत्व नदिएको नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजुबाबू जिसिको भनाइ छ । ‘जुझारु नेतृत्वको आवश्यकता रहेको बोर्ड ६ महिनादेखि नेतृत्व बिहीन हुन दुःखत अवस्था हो,’ उनले भने । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया पनि २ महिना पुगेको भन्दै यसलाई छिटो टुङ्याउन पनि उनले आग्रह गरे । यो विषयमा मन्त्रीलाई पनि कुनै मतलव नै नभएको जस्तो देखिएको उनको भनाइ छ । यसमा गम्भिरतालाई सरकारले ध्यान नदिएको उनको आरोप छ ।

बोर्डमा एक मिनेट पनि अध्यक्ष खाली नहोस् भन्नका लागि अर्थमन्त्रालयको प्रतिनिधिलाई अध्यक्षको हैसियतामा काम गर्ने अधिकार प्रत्यायोजना गरिएको भन्दै सरकारले यसमा ध्यान दिनु पर्ने बताए ।

धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले छिटोभन्दा छिटो धितोपत्र बोर्डको स्थायी अध्यक्ष आउनु पर्ने बताए । आफू अर्थमन्त्रालयको प्रतिनिधिका रुपका आएको भन्दै सरकारले छिटै अध्यक्ष पठाउनु पर्ने उनको भनाइ थियो । ‘म अर्थ मन्त्रालयको प्रतिनिधि हुँ । अध्यक्षको पुरा जिम्मेवारी लिएर आएको व्यक्तिले आफ्नो योजनाअनुसार काम गर्न सक्छ । त्यसैले सरकारले छिटो भन्दा छिटो अध्यक्षको नियुक्ति गरिदियोस्,’ उनले भने ।

धितोपत्र बोर्डको सामान्य कुराले पनि लगानीकर्तालाई समस्या पार्ने भएकाले त्यसतर्फ समयमा नै ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो । अध्यक्ष नहुँदा भ्याकुम भएका कुरालाई विस्तारै अगाडि बढाउने उनले बताए । पुस महिनादेखि ठप्प रहेका कामलाई छिट्टै अगाडी बढाउने गरि काम भइरहेको अध्यक्ष रानाको भनाइ छ । ‘नेपाल सरकारले विश्वास गरेर समय नतोके पनि अध्यक्षको जिम्मेवारी दिएकाले धितोपत्र बजारलाई चलायमान बनाउने विषयमा बोर्ड सदस्यह र कर्मचारीहरु पनि सिरियर रहेको अवस्था छ । छिट्टै काम हुन्छ,’ उनले भने ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal