Skip to content

आगामी आर्थिक वर्षको लागि असार २५ पछि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली बन्द गरिने

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले आगामी आर्थिक वर्षको तयारीस्वरूप असार २५ गते राति १२ बजेदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) बन्द गरिने जनाएको छ।

कार्यालयले ७५३ वटै स्थानीय तहलाई परिपत्र जारी गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ। सोही व्यवस्थाअनुसार असार २५ गतेपछि स्थानीय तहबाट नयाँ भुक्तानी तथा निकासा गर्न नपाइने कार्यालयले स्पष्ट पारेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सुत्र असार २५ गते राति १२ बजेदेखि नयाँ आर्थिक कारोबारका लागि बन्द हुनेछ। त्यसपछि असार मसान्तसम्म भने आर्थिक वर्षको हिसाब मिलान र अन्तिम समायोजनका लागि आवश्यक सीमित कारोबार मात्रै सञ्चालन गर्न पाइनेछ।

परिपत्रअनुसार भुक्तानीबाट कट्टी भई दाखिला हुन बाँकी रहेका कर तथा अन्य दायित्व बैंकमा जम्मा गर्ने, विभिन्न कारणले ट्रान्सफर रिजेक्ट भएका ईएफटीहरूको पुनः भुक्तानी गर्ने, सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानको बाँकी रकम सम्बन्धित कार्यालयमा फिर्ता गर्ने, विभिन्न खाताबाट सञ्चित कोष खातामा रकम स्थानान्तरण गर्ने तथा बैंक भौचरका आधारमा पेस्की फर्छ्योट र अन्य रकम समायोजन गर्ने कार्य भने असार मसान्तसम्म गर्न सकिने व्यवस्था गरिएको छ।

कार्यालयले आर्थिक वर्षको अन्त्यमा लेखा प्रणालीलाई व्यवस्थित, पारदर्शी र समयमै बन्द गर्न सबै स्थानीय तहलाई परिपत्रमा उल्लेखित व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi