काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा हाल देखिएका समस्या समाधान गर्न आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्ने भएको छ। बजारमा देखा परेका पछिल्ला उतारचढाव र लगानीकर्ताका गुनासोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बोर्डले यस्तो योजना अघि सार्न लागेको हो।
बोर्डले विज्ञप्ति जारी गर्दै लगानीकर्ताको हकहित संरक्षणका लागि गम्भीर रूपमा गृहकार्य भइरहेको उल्लेख गरेको छ। आगामी साताभित्र समयबद्ध कार्ययोजना सहितको विस्तृत मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लैजाने सेबोनको तयारी छ।
पूँजी बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन बोर्डले अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सम्बद्ध संस्थाहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ। दिइएका निर्देशन अनुरूपका कामहरू तोकिएको समयमै सम्पादन गराउन बोर्ड प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया र नियमन व्यवस्थालाई थप व्यवस्थित बनाउन कानुनी सुधारको काम समेत सुरु भइसकेको सेबोनले जनाएको छ। जसका लागि विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, तथा सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायतका कानुनी व्यवस्थाहरूमा समसामयिक पुनरावलोकनको कार्य प्रारम्भ भइसकेको छ।बोर्डले लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्त्व दिएर काम गरिरहेको दाबी गरेको छ।
यसैगरी, बजारमा चल्ने कुनै पनि हल्ला, बहकाऊ वा अफवाहको पछि नलाग्न सेबोनले आग्रह गरेको छ । लगानीकर्ताहरूलाई आफ्नो व्यक्तिगत अध्ययन, विश्लेषण र जोखिम वहन गर्न सक्ने क्षमतालाई ध्यान दिएर मात्र सुझबुझ पूर्ण तरिकाले लगानी सम्बन्धी निर्णय लिन बोर्डले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्