काठमाडौं । चालू आर्थिक वर्ष २०८२–८३ को एघार महिना (२०८३ जेठ मसान्त) सम्ममा मुलुकको विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा उल्लेख्य वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई रु.२१ खर्ब २० अर्ब ८० करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले मात्र बढेको थियो। अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो। जेठ महिनाको एकल तथ्याङ्क हेर्दा विप्रेषण आप्रवाह रु.२०३ अर्ब ८९ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा रु. १७६ अर्ब ३२ करोड रहेको थियो।
रेमिट्यान्समा आएको सुधारसँगै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) मा पनि बढेको छ। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको एघार महिनामा खुद द्वितीय आय रु. २३२१ अर्ब ७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. १६६९ अर्ब ५१ करोड मात्र रहेको थियो। यसले मुलुकको बाह्य क्षेत्र सन्तुलनमा सकारात्मक योगदान पुर्याएको देखिन्छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ६७ हजार २११ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४ लाख ५२ हजार ३२४ रहेको थियो।
नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटे पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा भने वृद्धि भएको छ। समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ५५ हजार ७३५ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या ३ लाख ८ हजार ६७ मात्र रहेको थियो।
प्रतिक्रिया दिनुहोस्