Skip to content

अमेरिकाले होर्मुजमा नौसैनिक नाकाबन्दी पुनः लागू गर्‍यो, इरानमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै होर्मुज जलघाँटी तथा इरानी बन्दरगाहतर्फ केन्द्रित नौसैनिक नाकाबन्दी पुनः लागू गरेको जनाएको छ। लगातार चौथो दिनसम्म जारी आक्रमणपछि वासिङ्टन–तेहरानबीचको तनाव झन् चर्किएको छ भने मध्यपूर्वमा विकसित अवस्थाले विश्वव्यापी ऊर्जा बजारमा समेत दबाब बढाएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार पछिल्लो कारबाहीको उद्देश्य व्यावसायिक जहाज र नागरिक सुरक्षामा खतरा पुर्‍याउन सक्ने इरानी सैन्य क्षमतालाई कमजोर बनाउनु हो। सेन्टकमले इरानले हालैका दिनमा सातवटा व्यापारिक जहाजमाथि आक्रमण गर्दा करिब एक दर्जन चालकदलका सदस्यको मृत्यु, घाइते वा बेपत्ता भएको दाबी गरेको छ। सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले निर्दोष नागरिकको ज्यान जोखिममा पार्ने गतिविधिका लागि इरानलाई जवाफदेही बनाइने बताएका छन् ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, होर्मुज नजिकको केशम टापु, बन्दर इमाम खोमेनी तथा अन्य स्थानमा विस्फोट भएको जनाएका छन्। केही विवरणअनुसार बुसेहर प्रान्त, इरानको नागरिक आणविक विद्युत् केन्द्र आसपासका क्षेत्र तथा इराक–कुवेत सीमावर्ती इलाकामा पनि आक्रमण भएको उल्लेख गरिएको छ।
यसको प्रत्युत्तरमा इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी ड्रोन आक्रमण गरेको इरानी सरकारी समाचार एजेन्सी इरानले जनाएको छ। रिभोलुसनरी गार्ड्सले बहराइनस्थित अमेरिकी सैन्य संरचनालाई समेत मिसाइल तथा ड्रोनबाट निशाना बनाइएको दाबी गरेको छ। बहराइन र जोर्डनले भने आफ्ना वायु प्रतिरक्षा प्रणालीले इरानबाट प्रहार गरिएका धेरै ड्रोन तथा क्षेप्यास्त्र निष्क्रिय पारेको बताएका छन्।
इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू गर्ने निर्णयले द्वन्द्व रोक्न र शान्ति वार्ता अघि बढाउन भएको अन्तरिम ‘इस्लामाबाद सम्झौता’ प्रभावहीन बनेको आरोप लगाएका छन् । रिभोलुसनरी गार्ड्सले अमेरिकाले आक्रमण नरोकेसम्म स्ट्रेट अफ होर्मुज बन्द रहने चेतावनी पनि दिएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलघाँटी प्रयोग गर्ने जहाजमाथि प्रस्ताव गरिएको २० प्रतिशत अतिरिक्त शुल्कको योजना फिर्ता लिँदै त्यसको सट्टा खाडीका साझेदार राष्ट्रसँग व्यापार तथा लगानी सम्झौता गर्ने निर्णय गरिएको जानकारी दिएका थिए । तर, उनले तेहरान वार्ताको टेबलमा नफर्किए अर्को सातादेखि इरानका विद्युत् उत्पादन केन्द्र, पुल तथा अन्य रणनीतिक पूर्वाधारलाई लक्षित गरी थप आक्रमण गरिने चेतावनी पनि दिएका छन् ।
समुद्री सुरक्षासम्बन्धी संस्था एमटिआई नेटवर्कका अनुसार ओमानको तट नजिक अज्ञात विस्फोटका कारण नर्वेली तेल ट्याङ्करमा क्षति पुगेको छ। कुवेतले पनि इरानी मिसाइल तथा ड्रोन आक्रमणका क्रममा आफ्नो एउटा नौसैनिक जहाजमा प्रहार हुँदा चार सैनिक घाइते भएको जनाएको छ।
इरानी सञ्चारमाध्यम र सरकारी विवरणका आधारमा एएफपीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत सातादेखिको अमेरिकी आक्रमणमा इरानमा कम्तीमा २८ जनाको भएको छ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले इजरायलमाथि आक्रमण गरे कडा प्रतिकार गरिने चेतावनी दिएका छन् । उनले  इजरायलमाथि हुने कुनै पनि आक्रमणको निर्णायक जवाफ दिइने स्पष्ट पार्दै क्षेत्रीय तनाव अझ बढ्न सक्ने संकेत गरेका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi