Skip to content

राष्ट्र बैंकले ९१ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप उठाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ९१ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत बजारबाट १ खर्ब रुपैयाँ उठाउने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार उक्त रकमका लागि बैंक तथा वित्तीय संस्थाबाट अनलाइन बोलकबोल मार्फत प्रस्ताव आह्वान गरिएको छ। बोलकबोल बुधबार दिउँसो ३ बजेसम्म हुनेछ भने निक्षेप संकलन उपकरण असार ३१ गते निष्काशन गरिनेछ।

यो निक्षेप संकलन उपकरणको अवधि ९१ दिन रहनेछ। बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा साँवा तथा ब्याज असोज २ गते सम्बन्धित संस्थालाई भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

सूचनाअनुसार बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म ५ करोड रुपैयाँले भाग जाने गरी बोल गर्न सकिने व्यवस्था गरिएको छ। एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोल पनि पेश गर्न सक्नेछ।

राष्ट्र बैंकले आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिने जनाएको छ। समान ब्याजदरमा माग गरिएको रकम कुल निष्काशन रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिनेछ। साथै, सम्पूर्ण वा आंशिक बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ।

स्वीकृत भएका बोलपत्रबापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खाताबाट कट्टा गरिनेछ। निष्काशन हुने दिन खातामा पर्याप्त मौज्दात नभए त्यस्ता संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने व्यवस्था पनि सूचनामा उल्लेख छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi