काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जलाई सुशासित, प्रतिस्पर्धी, प्रविधिमैत्री, नवप्रवर्तनमुखी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
सेबोनले आर्थिक वर्ष २०८३/८४ मा सरकारको बजेट वक्तव्यमा उल्लेख भए बमोजिम नेप्सेको संस्थागत पुनःसंरचना, सुशासन तथा सञ्चालन प्रणालीको समग्र पुनरावलोकन गरी यसको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न आवश्यक सहजीकरण गरिने जनाएको छ ।
अन्तर्राष्ट्रिय असल अभ्यासअनुरूप स्वामित्व संरचना, सञ्चालक समितिको व्यवसायिकता, स्वतन्त्रता तथा उत्तरदायित्वलाई थप सुदृढ बनाउँदै संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नेप्सेको दीर्घकालीन विकासका लागि आवश्यक परे चरणबद्ध रूपमा रणनीतिक साझेदारी, पूँजी संरचना सुधार तथा व्यवस्थापन प्रणालीको आधुनिकीकरणका विकल्पहरूको अध्ययन गरी उपयुक्त सुधार प्रक्रिया अघि बढाइने उल्लेख छ ।
कारोबार प्रणालीलाई उच्च क्षमतायुक्त, सुरक्षित तथा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमा आधारित बनाउँदै ठूलो संख्यामा हुने कारोबारलाई सहज रूपमा व्यवस्थापन गर्न सक्ने पूर्वाधार विकास गरिने उल्लेख छ ।
कारोबार, निगरानी, जोखिम व्यवस्थापन तथा सूचना प्रवाह प्रणालीलाई एकीकृत गर्दै वास्तविक समयमा बजार सञ्चालन तथा विश्लेषण गर्न सक्ने क्षमता विस्तार गरिने, साइबर सुरक्षा, प्रणालीको निरन्तरता तथा विपद् व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुदृढ बनाउन सहजीकरण गरिने उल्लेख छ ।
नेप्सेलाई सेयर कारोबारमा मात्र सीमित नराखी कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, नगर ऋणपत्र, हरित ऋणपत्र, पूर्वाधार ऋणपत्र, एक्सचेञ्ज ट्रेडेड फण्ड, रियल इस्टेट इन्भेष्टमेन्ट ट्रस्ट, इन्भाइट तथा चरणबद्ध रूपमा डेरिभेटिभ वित्तीय उपकरणहरूको कारोबार गर्न सक्षम बहुआयामिक बजारका रूपमा विकास गरिने जनाइएको छ । यसका लागि आवश्यक कानूनी, प्राविधिक तथा संस्थागत पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख छ ।
बजारमा तरलता अभिवृद्धि गर्न बजार निर्माणकर्ता, अधिकृत सहभागी, धितोपत्र उधारो तथा ऋण, इन्ट्रा डे, सर्ट सेलिङ लगायतका अन्तर्राष्ट्रिय रूपमा स्वीकृत बजार संयन्त्रहरू चरणबद्ध रूपमा अध्ययन, परीक्षण तथा कार्यान्वयन गरिने छ ।
नेप्से सूचकांकलाई स्थापित अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाउन प्रचलित सूचकांक गणना गर्ने संस्थासँग सहकार्य गर्न, कारोवारयोग्य सेयरहरूको आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई बेन्चमार्क सूचकाङ्कको रूपमा प्रयोग गर्ने र सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गरिने उल्लेख छ ।
यस्तै पूँजी, प्रतिफल, तरलतालगायतका आधारमा नेप्से इन्डेक्स (जस्तै नेप्से ३०, नेप्से हाइ क्याप) विविधीकरण, एसएमईज् प्लेटफर्म संचालन, सूचीकृत संगठित संस्थाको वर्गीकरण वस्तुपरक बनाउनुका साथै धितोपत्रको दोस्रो बजार कारोवार मोबाईल एपमार्फत गर्ने व्यवस्था मिलाईने जनाएको छ ।
बोर्डले आगामी आवको नीति तथा कार्यक्रममा पनि गैर-आवासीय नेपालीलाई जिस्क्याउने काम गरेको छ ।
बोर्डले काम केही गर्न नसकेपनि आफ्नो नीति तथा कार्यक्रममा गैर आवासीय नेपालीलाई छुटाएको भने छैन । आगामी आवको नीतिमा
गैर-आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन आवश्यक संरचनाको व्यवस्था गरिने उल्लेख छ ।
यस्तै सूचीकरण नीतिलाई थप व्यावहारिक, पारदर्शी तथा उत्पादनमुखी बनाउँदै उत्पादन, सूचना प्रविधि, कृषि व्यवसाय, पर्यटन, ऊर्जा, स्वास्थ्य, शिक्षा तथा नवीन उद्योगका सक्षम कम्पनीहरूलाई पूँजी बजारमा प्रवेश गर्न प्रोत्साहित गरिने उल्लेख छ ।
नेप्सेलाई दक्षिण एशियाका उदीयमान पूँजी बजारहरूसँग प्रतिस्पर्धा गर्न सक्ने आधुनिक वित्तीय बजारका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यका साथ अन्तर्राष्ट्रिय स्टक एक्सचेञ्जहरू, प्राविधिक साझेदार संस्था तथा क्षेत्रीय पूँजी बजार संगठनहरूसँग सहकार्य विस्तार गरिने जनाईएको छ ।
पूँजी बजारको विश्वसनीयता, पारदर्शिता तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्दै नेपाल स्टक एक्सचेञ्जलाई राष्ट्रिय आर्थिक विकासको प्रमुख वित्तीय पूर्वाधार संस्थाका रूपमा स्थापित गर्न आवश्यक नीतिगत तथा संस्थागत सुधारलाई निरन्तर अघि बढाइने उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्