काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी १० वर्षभित्र नेपालको पूँजी बजारलाई उल्लेख्य रूपमा विस्तार गर्ने मार्गचित्र सार्वजनिक गरेको छ । बोर्डले आगामी १० वर्षभित्र दैनिक औसत ३० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार पुर्याउने लक्ष्य सार्वजनिक गरेको हो ।
बोर्डले मंगलबार सार्वजनिक गरेको ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ अनुसार सन् २०३६ सम्म पूँजी बजारको आकार, लगानीकर्ता सहभागिता तथा वित्तीय उपकरणहरूको दायरा विस्तार गर्ने योजना अघि सारेको हो।
मार्गचित्रअनुसार हाल करिब ३०० वटा सूचीकृत कम्पनी रहेको बजारलाई बढाएर ५०० भन्दा बढी कम्पनी पुर्याउने लक्ष्य राखिएको छ। यसैगरी, बजार पूँजीकरणलाई कुल गार्हस्थ्य उत्पादन (जिडीपी) को ७० देखी ८० प्रतिशतबाट बढाएर १५० प्रतिशतसम्म पुर्याउने लक्ष्य लिइएको छ।
सेबोनले डिम्याट खाताको संख्या ८० लाखबाट बढाएर १ करोड २० लाखभन्दा बढी पुर्याउने तथा संस्थागत लगानीकर्ताको कारोबार हिस्सा कुल कारोबारको ४० प्रतिशतभन्दा बढी बनाउने योजना पनि अघि सारेको छ।
यसैगरी, प्रारम्भिक चरणमा रहेको कर्पोरेट बोण्ड मार्केटको कुल पूँजी बजारको हिस्सा २० प्रतिशत पुर्याउने सेबोनको लक्ष्य रहेको छ। यसैगरी, हाल ५६ रहेको योजना भएको म्युचुअल फन्डको संख्या १५० पुर्याउने बोर्डको योजना रहेको छ ।
यस्तै, हालसम्म सुरु नभएको विदेशी पोर्टफोलियो लगानीलाई चरणबद्ध रूपमा संस्थागत सहभागितामार्फत पूँजी बजारमा प्रवेश गराउने लक्ष्य पनि बोर्डले तय गरेको छ।
सेबोनका अनुसार मार्गचित्रले नेपालको पूँजी बजारलाई थप गहिरो, प्रतिस्पर्धी, आधुनिक र लगानीमैत्री बनाउँदै दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ।









प्रतिक्रिया दिनुहोस्