काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सेचञ्ज (नेप्से) र सिडिएससीलाई सर्ट सेलिङ सेवा सञ्चालन व्यवस्था मिलाउन, इन्ट्रा डे कारोबार सुरु गर्नका लागि आवश्यक काम गर्न निर्देशन दिएको छ । बोर्डका अध्यक्ष डा. गोपाल भट्टले आज नेप्से र सिडिएससीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
भेटमा अध्यक्ष भट्टले बोर्डले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र नेपालको पुँजी बजार विकास मार्गचित्र २०८३ मा नेप्सेले गर्नुपर्ने अन्य कामका बिषयमा पनि काम अघि बढाउन निर्देशन दिएको बताइएको छ ।
आज भएको छलफलमा बोर्डका अध्यक्ष भट्टले बजार विकासका लागि बोर्डको नीतिमा तय गरिएका कार्यक्रमको ठोस कार्ययोजना तयार गरी बोर्डमा यथाशीघ्र पेश गर्न निर्देशन दिए । ”सर्ट सेलिङ सेवा सञ्चालन व्यवस्था मिलाउनका लागि गर्नुपर्ने कानुनी सुधार तथा संरचनागत (जनशक्ति र प्रविधि) को आवश्यकता पहिचानसहित यथाशीघ्र कार्य अगाडि बढाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न बोर्ड सबै प्रकारको सहजीकरणको लागि तयार भएको समेत जानकारी गराउनुभएको छ” जारी विज्ञप्तिमा भनिएको छ ।
साथै उक्त छलफलमा नेप्सेका अधिकारीहरुले सेबोनले ३ वर्षभन्दा लामो समयदेखि रोकेर राखेको २ वटा विनियमावली स्वीकृत गरिदिन आग्रह गरेका छन् ।
नेप्सेले २०८० वैशाख र असारमा सेबोनमा २ वटा विनियमावली स्वीकृत गर्न पठाएको छ । जसमा सूचीकरण विनियमावली संशोसन गर्न र नयाँ बनाएर पठाएको धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली स्वीकृत गर्न पठाएको छ । ती दुवै विनियमावली सेबोनले रोकेर राखेको छ । नेप्सेले दुवै विनियमावली स्वीकृत गर्न अनुरोध गरेको हो ।









प्रतिक्रिया दिनुहोस्