काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि सरकारी स्वामित्वका औद्योगिक क्षेत्रभित्रका उद्योगहरूको भाडा बक्यौता असुलीको प्रक्रिया तीव्र बनेको छ।
मन्त्री यादवले बक्यौता रहेका उद्योगहरूलाई सात दिनभित्र सम्पूर्ण रकम चुक्ता गर्न निर्देशन दिँदै अन्यथा विद्युत् तथा खानेपानी सेवा बन्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी थिन। त्यसपछि उद्योगहरूले धमाधम बक्यौता रकम बुझाउन थालेका छन्।
एकैदिन ५६ लाख ६० हजार बढी असुली, कुल बक्यौता संकलन ४६ करोड ७३ लाख नाघ्यो
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बिहीबार मात्रै रु. ५६ लाख ६० हजार ९२३ रुपैयाँ ३७ पैसा बक्यौता रकम असुल भएको छ। यससँगै हालसम्म असुल भएको कुल बक्यौता रकम रु.४६ करोड ७३ लाख ११ हजार ९६४ रुपैयाँ ५२ पैसा पुगेको मन्त्रालयले जनाएको छ।
भाडा बक्यौता चुक्ता गरेपछि हिजो र आज गरी थप ५ उद्योगको विद्युत् लाइन पुनः सुचारु गरिएको छ। यद्यपि, अझै २१ उद्योगले बक्यौता नतिरेका कारण उनीहरूको विद्युत् सेवा बन्द नै रहेको मन्त्रालयले जनाएको छ।
सबैभन्दा बढी बक्यौता दुई कम्पनीमा
मन्त्रालयका अनुसार जरिवाना बाहेक आर्थिक वर्ष २०७५–७६ देखि हालसम्म सबैभन्दा बढी बक्यौता रहेका दुई कम्पनीले अझै रकम भुक्तानी गरेका छैनन्।
–कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालिकाे ३ करोड ७५ लाख ३६ हजार ४५० रुपैयाँ ७८ पैसा
–कन्टिनेन्टल सर्भिसेज प्रालिकाे १ करोड १ लाख ५३ हजार ४११ रुपैयाँ १७ पैसा
मन्त्रालय स्रोतका अनुसार यी दुवै कम्पनीले बक्यौता नतिरी गोदाम सञ्चालन गरिरहेका छन्। उनीहरूविरुद्ध थप कानुनी कारबाही अघि बढाउने विषयमा मन्त्रालयले आन्तरिक तयारी गरिरहेको जनाएको छ।
मन्त्री यादवले सरकारी सम्पत्तिको उपयोग गर्ने उद्योगहरूले तोकिएको दायित्व समयमै पूरा गर्नुपर्ने बताउँदै बक्यौता नतिर्ने उद्योगमाथि कानुनबमोजिम कारबाहीको प्रक्रिया निरन्तर अघि बढाइने स्पष्ट पारेकी छन् ।
प्रतिक्रिया दिनुहोस्