कामाठाडौं । चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो कारोबार दिन शुक्रबार सेयर बजार उच्च अंकले बढेको छ। शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक ७९.७४ अंकले बढे २६७७.५४ बिन्दुमा पुगेको छ।
आज ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज समग्रमा ३.०६ प्रतिशत बढेको छ। शुक्रबार देखी नयाँ आर्थिक वर्ष २०८३–८४ को सुरुवात भएको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा सामान्य सुधार देखिएको थियो ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६० प्रतिशत बढेको छ।आज लगानी र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। आज म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।
आज श्रीनगर एग्रिटेक इण्डष्ट्रिजको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने शिखर पावर डेभलपमेन्टको सेयरमूल्य साढे १२ प्रतिशत बढेको छ। आज कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बसैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयर मूल्य आज १५ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड २३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज कर्पोरेट डेभलपमेन्ट बैंकको साढे १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। आज रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।
प्रतिक्रिया दिनुहोस्