काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारी र गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकालविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दायर गरेको छ।
आयोगका अनुसार अधिकारीले क्यानअन्तर्गत सञ्चालन भएका विभिन्न ठेक्कामा स्वीकृति, रेखदेख तथा भुक्तानी प्रक्रियामा आफ्नो पदको दुरुपयोग गर्दै ठेक्का सहजीकरण गरेबापत गायत्री निर्माण सेवाका प्रमुख ढकालबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको जनाएको छ।
अख्तियारले उक्त रकमको स्रोत लुकाउने उद्देश्यले अधिकारीले श्रीमतीको नाममा ललितपुर महानगरपालिका–५ स्थित १३ आना जग्गा खरिद गरेको आरोप लगाएको छ। आयोगका अनुसार जग्गाको राजीनामा लिखतमा ९१ लाख रूपैयाँ उल्लेख गरी वास्तविक कारोबार र घुसबाट प्राप्त रकम लुकाउने प्रयास गरिएको थियो। बाँकी १ करोड ७१ लाख रूपैयाँ विभिन्न बैंक खातामार्फत कारोबार गराई गैरकानुनी सम्पत्तिलाई वैधानिक देखाउने प्रयास गरिएको दाबी आयोगको छ।
आयोगले अधिकारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गर्दै १ करोड ७१ लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र ललितपुरस्थित उक्त जग्गा जफत गर्न मागदाबी गरेको छ। राष्ट्रसेवक कर्मचारी भएकाले कानुनबमोजिम थप सजायको समेत माग गरिएको छ।
त्यस्तै, गायत्री निर्माण सेवा तथा उसका प्रमुख प्रेम प्रकाश ढकालमाथि घुस दिएको तथा सम्पत्ति शुद्धीकरण कसुरमा सहयोग, सहजीकरण र दुरुत्साहन गरेको आरोपमा समान बिगो कायम गरी कैद, जरिवाना तथा सम्बन्धित सम्पत्ति जफत गर्न मागदाबी गरिएको छ।
अख्तियारले उक्त आरोपपत्र विशेष अदालत, काठमाडौंमा दायर गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्