काठमाडौं । नेपालीको थाप्लोमा वर्षेनी ऋणको भार थपिँदै गएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२–८३ सम्ममा प्रत्येक नेपालीको थाप्लोमा १ लाख २ हजार ३ रुपैयाँ ऋणको भार रहेको हो ।
सरकारको बढ्दो खर्च, कमजोर राजस्व संकलन, बजेट घाटा र विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनका कारण सार्वजनिक ऋणको उकालो लागेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म आउँदा नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०८२÷८३ सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रहेको सार्वजनिक ऋण गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा विनिमय दरमा भएको नोक्सानीसहित ३ खर्ब ८५ करोड रुपैयाँ थपिएको हो ।
हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५.०७ प्रतिशत बराबर हो । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.७७ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.२३ प्रतिशत रहेको छ ।
असार मसान्तसम्म सरकारले तीन खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋणको साँवा–ब्याजको भुक्तानी गरेको छ । जसमा साँवा बापत तीन खर्ब १२ अर्ब ४० करोड रुपैयाँ र ब्याज बापत ७३ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको हो ।
आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड बराबर रहेकामा असार मसान्तसम्ममा बढेर १३ खर्ब ७५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २०.८४ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले ३ खर्ब ५८ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदा ब्याज बाहेक २ खर्ब ५० अर्ब ५६ करोड बराबर ऋण तिरेको छ ।
यसैगरी, असार मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १५ खर्ब ९९ अर्ब ४८ करोड ५७ लाख रुपैयाँ छ । अघिल्लो असार मसान्तसम्म बाह्य ऋण १४ खर्ब पाँच अर्ब ८२ करोड बराबर थियो ।
यस अवधिमा सरकारले बाह्य ऋणको भुक्तानीमा ब्याज बाहेक ६१ अर्ब ८४ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ भने यही अवधिमा ८८ अर्ब ५० करोड १९ लाख रुपैयाँ बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २४.२३ प्रतिशत बराबर हो ।
गत आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकोमा यस अवधिमा ४ खर्ब ४७ अर्ब १८ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति ७५.०७ प्रतिशत हो ।
जसमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ९९.०८ र ३७.८८ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८०.२१ र १९.७९ प्रतिशत रहेको छ ।










प्रतिक्रिया दिनुहोस्