Skip to content

एसबीआई बैंकले गैरकानूनी काम गरेको भन्दै राष्ट्र बैंकमा उजुरी

काठमाडौं । नेपाल एसबीआई बैंकले श्रम कानुन, ट्रेड युनियन अधिकार तथा आफ्नै आन्तरिक नीतिविपरीत काम गरेको आरोप लगाउँदै बैंक कर्मचारी संघले नेपाल राष्ट्र बैंकमा उजुरी दिएको छ।

संघले बैंकको कमर्सियल शाखामा कार्यरत कर्मचारीमाथि शाखा प्रबन्धकबाट मानसिक उत्पीडन, व्यक्तिगत अपमान तथा राति अबेरसम्म जबर्जस्ती अतिरिक्त समय काम लगाएको आरोपमा बैंकको व्यवस्थापनमा गुनासो राखेको थियो।  बैंकको व्यवस्थापन समितिले कर्मचारीको गुनासोमाथि निष्पक्ष छानबिन नगरी उल्टै उजुरीकर्ता कर्मचारी र ट्रेड युनियनका पदाधिकारीमाथि प्रतिशोधपूर्ण सरुवा गरिएको भन्दै बैंकका कर्मचारी राष्ट्र बैंक पुगेका हुन् ।

संघका अनुसार २०२६ अप्रिल १ मा कमर्सियल शाखाका १३ जना कर्मचारीले शाखा प्रबन्धकविरुद्ध संयुक्त लिखित गुनासो दर्ता गरेका थिए। त्यसपछि अप्रिल ५ मा कर्मचारी संघले बैंकका प्रमुख कार्यकारी अधिकृतसमक्ष औपचारिक निवेदन दिएको थियो। त्यसको चार दिनपछि बैंकले आन्तरिक गुनासो सम्बोधन तथा सतर्कता व्यवस्थाअन्तर्गत छानबिन सुरु गरिएको जानकारी गराएको थियो।

संघको दाबीअनुसार आन्तरिक गुनासो सम्बोधन समितिले प्रतिवेदन तयार गरे पनि त्यसको निष्कर्ष र निर्णय उजुरीकर्तालाई जानकारी नगराई प्रक्रिया लम्ब्याउन पुनः अर्को अधिकारीमार्फत छानबिन गराइएको थियो। गुनासोकर्ता र आरोपित पक्षलाई अलग राखेर छानबिन गर्नुपर्ने न्यूनतम प्रक्रियासमेत पालना नगरिएको संघको आरोप छ।

यस विषयमा कर्मचारी संघले २०२६ जुन ४ मा दुईदिने अल्टिमेटम दिएको थियो। त्यसपछि बैंकको मानव संसाधन विभागले जुन १२ मा पत्र पठाउँदै अन्तरिम उपायको हवाला दिँदै माग सम्बोधन नगरेको संघले जनाएको छ।

संघका अनुसार जुलाई १७ मा मानव संसाधन विभागले इमेलमार्फत छानबिन सम्पन्न भई अनुशासन अधिकारीले आवश्यक कारबाही गरिसकेको जानकारी दिएको थियो। तर त्यसको तीन दिनपछि, जुलाई २० मा व्यवस्थापनले उजुरीकर्ता तीन कर्मचारी तथा कर्मचारी संघका एक केन्द्रीय समिति सदस्यलाई उपत्यकाबाहिर सरुवा गरेको जनाएको छ। संघले उक्त सरुवालाई प्रतिशोधपूर्ण र गैरकानुनी कदमको संज्ञा दिएको छ।

संघले यस्तो कार्य श्रमसम्बन्धी अनुचित अभ्यास भएको, ट्रेड युनियन ऐन, २०४९ को दफा २३(क), नेपालको संविधानको धारा ३४ तथा बैंककै कार्यस्थल उत्पीडनविरुद्धको नीतिको उल्लङ्घन भएको दाबी गरेको छ।

संघले नेपाल राष्ट्र बैंकसँग प्रतिशोधपूर्ण सरुवा आदेश तत्काल रद्द गर्न, छानबिन प्रतिवेदन तथा निर्णय सम्बन्धित पक्षलाई उपलब्ध गराउन, आवश्यक परे स्वतन्त्र र निष्पक्ष छानबिन गराउन तथा नेपाल एसबीआई बैंकमा संस्थागत सुशासन, कर्मचारी संरक्षण, आन्तरिक नियन्त्रण प्रणाली, आचारसंहिता र नियामकीय पालना सम्बन्धमा विशेष नियामकीय अनुसन्धान गरी जिम्मेवार अधिकारीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi