Skip to content

नेपाल एसबिआई बैंक प्रकरणः प्रतिशोधपूर्ण सरुवा फिर्ता र स्वतन्त्र छानबिन गर्न संघको माग

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले नेपाल एसबिआई बैंकमा कर्मचारीमाथि भएको भनिएको मानसिक उत्पीडन, प्रतिशोधपूर्ण सरुवा, ट्रेड युनियन अधिकारमाथिको हस्तक्षेप तथा श्रमिक अधिकार उल्लङ्घनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

बिहीबार जारी विज्ञप्तिमा फिउनले नेपाल एसबिआई बैंक कर्मचारी संघले उपलब्ध गराएको तथ्य तथा विवरणका आधारमा बैंकको कमर्शियल शाखामा कार्यरत कर्मचारीहरूको उजुरीपछि आन्तरिक छानबिन सुरु भए पनि त्यसलाई निष्पक्ष र पारदर्शी निष्कर्षमा नपुर्‍याई उजुरीकर्ता तथा ट्रेड युनियनसँग आबद्ध कर्मचारीहरूलाई प्रतिशोधपूर्ण ढंगले सरुवा गरिएको, मानसिक दबाब सिर्जना गरिएको र ट्रेड युनियन गतिविधिलाई कमजोर बनाउने प्रयास भएको आरोप लगाएको छ।

संघका अनुसार यस्ता गतिविधि नेपालको संविधानले प्रत्याभूत गरेको श्रमिकको मौलिक हक, ट्रेड युनियन स्वतन्त्रता, श्रम ऐन, २०७४, ट्रेड युनियन ऐन, २०४९ तथा बैंकको ‘एन्टी–हरासमेन्ट पोलिसी’को मर्मविपरीत छन्। यसले सुशासन, सामाजिक संवाद र संस्थागत श्रम सम्बन्धलाई कमजोर बनाउने संघको भनाइ छ।

विज्ञप्तिमा कार्यस्थलमा देखिएका समस्या वा अनियमितताबारे उजुरी गर्नु, आफ्नो धारणा व्यक्त गर्नु वा ट्रेड युनियनमार्फत अधिकारको संरक्षण गर्नु कुनै पनि कर्मचारीका लागि दण्डनीय विषय हुन नसक्ने उल्लेख गरिएको छ। यस्ता गतिविधिका कारण कर्मचारीमाथि प्रतिशोधपूर्ण व्यवहार हुनु लोकतान्त्रिक श्रम सम्बन्धको मूल सिद्धान्तविपरीत हुने संघले जनाएको छ।

फिउनले नेपाल एसबिआई बैंकमा देखिएको सम्पूर्ण घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न, उजुरीकर्ता, पीडित कर्मचारी तथा ट्रेड युनियन पदाधिकारीमाथि गरिएको भनिएको प्रतिशोधपूर्ण सरुवा र अन्य विभेदपूर्ण निर्णय पुनरावलोकन गर्न माग गरेको छ। साथै, कम्प्लेन्ट रेड्रेसल कमिटीसहित सम्पूर्ण अनुसन्धान प्रक्रियाको प्रतिवेदन सम्बन्धित पक्षलाई उपलब्ध गराई प्राकृतिक न्यायको सिद्धान्तअनुसार निर्णय गर्न पनि आग्रह गरेको छ।

संघले बैंकभित्र ट्रेड युनियन अधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा सुरक्षित र सम्मानजनक कार्यस्थल सुनिश्चित गर्न व्यवस्थापनले आवश्यक कदम चाल्नुपर्ने तथा नेपाल राष्ट्र बैंकसहित सम्बन्धित नियामक निकायले बैंकिङ क्षेत्रमा श्रम अधिकार, संस्थागत सुशासन र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न पहल गर्नुपर्ने माग गरेको छ।

साथै, नेपाल एसबिआई बैंक कर्मचारी संघले उठाएका श्रमिक हित, न्याय र विधिको शासनसँग सम्बन्धित मागप्रति ऐक्यबद्धता जनाउँदै वित्तीय क्षेत्रका सम्पूर्ण कर्मचारीका लागि सुरक्षित, सम्मानजनक तथा प्रतिशोधरहित कार्य वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्ने फिउनले आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi