काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणााली सम्बन्धमा ६ बुँदे निर्देशन जारी गरेको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै
भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख अनुसार राष्ट्रिय परिचयपत्रको विवरण समेत यकीन गरी वालेट खोल्ने व्यवस्था मिलाउनुपर्ने जनाएको छ ।
यो सँगै अब खल्ती, इसेवा जस्ता डिजिटल वालेट खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ ।
यस्तै अनुमतिपत्रप्राप्त संस्थाले २०८३ असोजमसान्त भित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भएरनभएको स्व:घोषणा लिनुपर्ने छ ।
राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ ।
राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ ।
विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत् विद्युतीय वालेट खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत वालेट खोल्न सक्नेछन् । यसरी खोलिने वालेटका सम्बन्धमा निज वालेट प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित अनुमतिपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ ।
आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत वालेट खोल्न र कारोबार गर्न सक्नेछन् ।









प्रतिक्रिया दिनुहोस्