काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासमा नारायणी डेभलपमेण्ट बैंक र सप्तकोसी डेभलपमेण्ट बैंकलाई कारबाही गरेको छ।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार दुवै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सप्तकोसी डेभलपमेण्ट बैंकको सञ्चालक समितिको अध्यक्षलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) बमोजिम सचेत गराइएको हो।
नारायणी डेभलपमेण्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई संस्थाले एकल ग्राहक कर्जा सीमासम्बन्धी व्यवस्था उल्लंघन गरेको पाइएपछि सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा बैंकलाई एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहक समूहलाई कोषमा आधारित तथा गैर–कोषमा आधारित सुविधा समेत गरी प्राथमिक पुँजीको अधिकतम १० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने सर्त राखिएको थियो। तर आर्थिक वर्ष २०८१–८२ मा उक्त व्यवस्था विपरीत तोकिएको सीमाभन्दा बढी कर्जा प्रवाह गरिएको भेटिएकाले त्यस अवधिका तत्कालीन प्रमुख कार्यकारी अधिकृत बिष्णु रेग्मीलाई सचेत गराइएको हो।
यस्तै, सप्तकोसी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल तथा सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई पनि आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी देखिएको भन्दै राष्ट्र बैंकले कारबाही गरेको छ।
२०८२ असोज मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा गरिएको स्थलगत निरीक्षणका क्रममा बैंकको भल्टमा रहेको नगद अपचलन भएको, ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच भएको तथा बैंकको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको पाइएको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी घटना सार्वजनिक भएपछि पनि विस्तृत छानबिन नगरेको, दोषीमाथि आवश्यक कारबाही अघि नबढाएको तथा आन्तरिक नियन्त्रण प्रणाली सुधार गर्न नीति तथा कार्यविधिमा आवश्यक संशोधन नगरेको निष्कर्षसहित प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल तथा सञ्चालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
सप्तकोसीलाई राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अन्तर्गत उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह, विपन्न वर्ग कर्जा, अनिवार्य नगद मौज्दात (सीआरआर), कर्जा–निक्षेप अनुपात, एकल ग्राहक कर्जा सीमा लगायतका नियामकीय व्यवस्था पालना नगरेको अवस्थाको समीक्षा गरी आवश्यकताअनुसार सचेत गराउने, नसिहत दिने, जरिवाना तथा अन्य कारबाही गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्