काठमाडौं । विज्ञापन बोर्डले बोर्डबाट स्वीकृति नलिई विभिन्न सञ्चारमाध्यममार्फत श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण भइरहेको भन्दै त्यस्ता विज्ञापन तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
बोर्डले सोमबार जारी गरेको अत्यन्त जरुरी सूचनामा विज्ञापन सामग्रीमा विज्ञापनकर्ताको नाम, ठेगाना, चेतावनीमूलक सन्देशलगायत अनिवार्य विवरण उल्लेख नगरिएको, तथ्यहीन तथा अतिरञ्जित सामग्री समावेश गरी उपभोक्तालाई भ्रममा पार्ने उद्देश्यका विज्ञापनसमेत प्रसारण भइरहेको पाइएको जनाएको छ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (ख) तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम ५ अनुसार विज्ञापन सामग्री परीक्षण तथा अनुमति दिने अधिकार विज्ञापन बोर्डमा रहेको बोर्डले स्मरण गराएको छ। साथै, विज्ञापन सामग्री प्रसारण परीक्षण सम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) कार्यान्वयनमा रहेको पनि सूचनामा उल्लेख छ।
बोर्डका अनुसार नेपालमा प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा विज्ञापन बोर्डबाट परीक्षण गराई प्रसारण अनुमति लिनुपर्नेछ। हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका विज्ञापन सामग्रीसमेत तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न र कानुनविपरीत रहेका विज्ञापन सामग्री अविलम्ब हटाउन बोर्डले निर्देशन दिएको छ।
बोर्डले कानुनी व्यवस्था विपरीत विज्ञापन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।









प्रतिक्रिया दिनुहोस्