काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको साधारण सेयर (आईपीओ)का विषयमा गरेको फैसलासँगै अन्य चार कम्पनीले निष्कासन गरेको सेयर बापतको रकम के हुने भन्ने प्रश्न सर्वत्र उब्जिएको छ ।
अदालतले बीमा प्राधिकरण र धितोपत्र बोर्डको नैतिकतामा प्रश्न उठाउँदै हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न दिएर जिम्मेवार निकायले कानूनसम्बत रुपमा काम नगरेको ठहर गरेको छ । साथै प्रिमिय मूल्यमा सेयर निष्कासन गरेको रकमलाई जगेडा कोषको रूपमा व्यवस्थापन गर्न नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले आपसमा आवश्यक समन्वय गरी कार्य गर्नू भन्ने आदेश दिएको छ ।
बीमा ऐन, २०७९ को दफा ४५९५० मा बीमकले सर्वसाधारणका लागि सेयर खरिदको दरखास्त आह्वान गर्दा अङ्कित मूल्यमा मात्रै माग गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ । उक्त व्यवस्था हुँदाहुँदै धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २५ मा भएको व्यवस्था हेरेर प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न हिमालयन रिका साथै आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई अनुमति दिइएको थियो ।
सर्वोच्चले फैसलामा बीमा ऐन विशेष ऐन भएकाले विशेष ऐनले रोकेको विषयमा कम्पनी ऐन, धितोपत्रसम्बन्धी कानुनका सामान्य व्यवस्थाहरू आकर्षित हुन नसक्ने ठहर गरेको छ ।
‘लगानीकर्ताको हितको संरक्षण हुने गरी धितोपत्र निष्कासन, खरिद, बिक्री, विनिमय अनुमति माग गर्ने संस्थाले पेश गरेको विवरणपत्र तथा अन्य कागजातहरुको परीक्षण गर्दा धितोपत्र सार्वजनिक निष्कासन गर्न अनुमति दिन उपयुक्त र मनासिव देखिएमा मात्र धितोपत्र बोर्डले प्रचलित कानूनको अधीनमा रही धितोपत्रको सार्वजनिक निष्कासन अनुमति दिनु पर्नेमा प्रत्यर्थी धितोपत्र बोर्डले सो बमोजिम आफ्नो कानूनी जिम्मेवारी कानूनसम्मत रुपले पूरा गरेको देखिएन। विशेष ऐनको रुपमा रहेको बिमा ऐन, २०७९ को दफा ४५ ९५० को विपरीत प्रत्यर्थी हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा शेयर बिक्री गर्न अनुमति माग गरेको र लगानीकर्ताहरुको हित संरक्षण गरी धितोपत्रको सार्वजनिक निष्कासन, खरिद बिक्री र वितरण गर्ने समेतको जिम्मेवारी पाएको प्रत्यर्थी धितोपत्र बोर्डले प्रचलित कानूनको अधीनमा रही धितोपत्र सार्वजनिक निष्कासन अनुमति माग गर्ने प्रत्यर्थी हिमालयन रिइन्स्योरेन्ससले पेश गरेको विवरणपत्र र अन्य कागजातहरुको परीक्षण गर्दा उपयुक्त र कानूनसम्मत देखिएमा मात्र धितोपत्रको सार्वजनिक निष्कासनको अनुमति दिनुपर्नेमा धितोपत्र ऐन, २०६३ र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ समेतबाट जिम्मेवारी तोकिएको प्रत्यर्थी धितोपत्र बोर्डसमेतले सो बमोजिम कार्य गरेको देखिएन । प्रत्यर्थी बिमा प्राधिकरणले पनि कानून विपरीत प्रत्यर्थी हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा शेयर बिक्री गर्न धितोपत्र बोर्डलाई सिफारिस गरेको देखियो’ फैसलामा भनिएको छ ।
हिमालयन रिका सन्दर्भमा नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणले आफ्नो कानुनी जिम्मेवारी कानुनसम्मत रूपमा पूरा नगरेको अदालतको ठहर छ । फैसलामा कानून विपरीत प्रिमियम मूल्यमा शेयर बिक्री गरी प्राप्त रकममध्ये अंकित मूल्यभन्दा बढी रकम कम्पनी ऐन, २०६३ को दफा २९ (२) र (३) बमोजिम प्रिमियम खाता खोली जम्मा गर्न र त्यस्तो रकमलाई कम्पनीले प्रयोग गर्न सक्ने व्यवस्थालाई बीमा ऐन २०७९ को दफा ३९ ले समेत सम्बोधन गरेको देखिंदा प्रत्यर्थी नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले संयुक्त रुपमा समन्वय गरी जगेडा कोषको स्थापना गरी उक्त कोषमा प्रिमियम रकमलाई राख्ने सम्बन्धमा आवश्यक समन्वय गरी कार्य गर्नु गराउनु भनी प्रत्यर्थीमध्येका नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र हिमालयन रिइन्स्योरेन्स लि।को नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ।
हिमालयन रिमा उजुरी परेको भएर अदालतले यस्तो फैसला गरेको हो । अब यिनिहरुले प्रिमियम बापतको थप रकम कोषमा राख्नुपर्ने छ ।
प्रिमियममा सेयर निष्कासन गर्ने ४ बीमा कम्पनीमा अहिलेसम्म कसैको उजुरी परेको छैन । अहिले यी कम्पनीले पनि अदालतले हिमालयन रिमा गरेको फैसला अनुसार कोषको व्यवस्था गर्ने हुन वा मौन बस्नेहुन भन्ने प्रश्न उठेको छ । प्राधिकरण, सेबोनले कस्तो निर्देशन दिनेहुन भन्ने प्रश्न रहेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँमा सेयर निष्कासन गरेर २ अर्ब ८४ करोड २९ लाख २० हजार संकलन गरेको थियो ।
तर आइएमईले अंकित मूल्यमा सेयर निष्कासन गरेको थियो भने बजारबाट १ अर्ब २० करोड मात्रै उठाउने थियो । प्रिमियममा सेयर उठाँउदा थप २ अर्ब ८३ करोड ९ लाख २० हजार रुपैयाँ बढी असुलेको छ ।
यस्तै सिटिजन लाइफ इन्स्योरेन्सले अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २४४ रुपैयाँका दरले सेयर निष्कासन गरेको थियो । कम्पनीको जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्दा १ अर्ब ६२ करोड रुपैयाँ बढी असुलेको छ ।
यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १०० रुपैयाँ अङ्कित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २३९ रुपैयाँका दरले सेयर निष्कासन गरेको थियो । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैयाँको ९६ लाख कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २३९ रुपैयाँमा सेयर निष्कासन गरेको हो । १३९ रुपैयाँ प्रिमियम थपिँदा १ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ थप असुलेको थियो ।
यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँका दरले सेयर निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले १५७ रुपैयाँ अंकित मूल्य थप गर्दा १ अर्ब ८८ करोड ४० लाख रुपैयाँ थप असुलेको छ ।









प्रतिक्रिया दिनुहोस्