काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि देशका मुख्य सहरी क्षेत्रमा सडक सुरक्षा, विद्युतीय तार भूमिगत गर्ने तथा पोल स्थानान्तरण सम्बन्धी विशेष योजना सञ्चालन गर्ने तयारी थालेको छ।
सरकारको स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन गर्न लागिएका दुई फरक आयोजनाका लागि प्राधिकरणले आफ्ना मातहतका प्रादेशिक तथा डिभिजन कार्यालयहरूलाई साउन २५ गतेभित्र आवश्यक एकीकृत विवरण पेस गर्न निर्देशन दिएको छ।
प्राधिकरणले साउन ११ गते पत्राचार गर्दै आर्थिक वर्ष २०८३/०८४ को कार्यक्रमानुसार “स्थानीय निकायका मुख्य सहरको सडक बीचको पोल सिफ्टिङ तथा सडक सुरक्षा आयोजना” सञ्चालन गर्न लागेको जनाएको छ। सडक विस्तार तथा यातायात सुरक्षामा अवरोध पुर्याइरहेका विद्युतका पोलहरू स्थानान्तरण गरी दुर्घटना न्यूनीकरण गर्ने र विद्युत् आपूर्तिमा हुने अवरोधलाई न्यूनतम कायम राख्ने आयोजनाको मुख्य उद्देश्य रहेको छ।
यस आयोजनाका लागि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालयका साथै हेटौँडा र नेपालगञ्जस्थित डिभिजन कार्यालय अन्तर्गतका वितरण केन्द्रहरूलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनिएको छ। सडक विभाग, स्थानीय तह वा अन्य निकायका कार्यक्रमहरूसँग काम दोहोरो नपर्ने सुनिश्चित गरी स्थानीय तहको सिफारिससहितको प्रमाणित विवरण पठाउन प्राधिकरणको निर्देशन छ।

त्यसैगरी, प्राधिकरणले सहरी सौन्दर्य अभिवृद्धिलाई ध्यानमा राख्दै “भूमिगत विद्युत् आपूर्ति सहित भौतिक रूपमा खडा भएका पोल, तार व्यवस्थापन तथा सहरी सौन्दर्यीकरण आयोजना” समेत सञ्चालन गर्ने भएको छ। यो आयोजना खासगरी बागमती प्रादेशिक कार्यालय (काठमाडौँ), गण्डकी प्रादेशिक कार्यालय (पोखरा) र बागमती प्रदेश डिभिजन कार्यालय (हेटौँडा) अन्तर्गतका वितरण केन्द्रहरूमा केन्द्रित रहनेछ।
मुख्य सहरी क्षेत्रमा जथाभावी टाँगिएका तार र पोलका कारण बिग्रिएको सहरी सुन्दरता सुधार्न र विद्युत् प्रणालीलाई सुरक्षित एवं भूमिगत बनाउन दीर्घकालीन आवश्यकताका आधारमा कार्यक्रम तयार गर्न लागिएको हो । यसका लागि सम्बन्धित स्थानीय तह, सडक विभाग लगायतका निकायहरूसँग आवश्यक समन्वय गरी आगामी साउन २५ गतेभित्रै एकीकृत विवरण प्राधिकरणको निर्देशनालयमा पेस गर्नुपर्नेछ ।
प्राधिकरणका अनुसार यी दुवै आयोजनाको प्रभावकारी कार्यान्वयनपछि देशका मुख्य सहरहरूमा सडक दुर्घटना कम हुनुका साथै वर्षौँदेखि अस्तव्यस्त बनेको पोल र तारको जालो हटेर सहरी सौन्दर्यमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्