Skip to content

आईपीओ ल्याउने तयारीमा रहेको नर्भिक हस्पिटलले गर्यो २ अर्बभन्दा बढीको आम्दानी, ऋणको रेटिङमा स्तरोन्नति

काठमाडौं । प्राथमिक सेयर निष्कासन (आईपीओ) को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा २ अर्ब रुपैयाँभन्दा बढीको आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नौ महिनामा २ अर्ब ४ करोड ४० लाख रुपैयाँभन्दा बढीको  सञ्चालन आम्दानी गरेको हो।
गत आवको चैत मसान्तसम्म कम्पनीको सञ्चालन मुनाफा दर (पीबीआईएलडीटी मार्जिन) ३२.९१ प्रतिशत पुगेको छ, जुन पछिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय सुधार हो। सन् २०२३ मा  १ अर्ब ९४ करोड रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२४ मा आउँदा बढेर २ अर्ब ३ करोड ३० लाख रुपैयाँ पुगेको थियो।
यसैगरी, सन् २०२५ मा कम्पनीको सञ्चालन आम्दानी अझ बढेर २ अर्ब २६ करोड ३० लाख रुपैयाँ पुगेको छ।  यता कम्पनीको सञ्चालन मुनाफा दर पनि वर्षेनी सुधार हुँदै गएको छ। कम्पनीका अनुसार सन् २०२३ मा २२.१५ प्रतिशत रहेको सञ्चालन मुनाफा दर सन् २०२४ मा आउँदा बढेर २३.६६ प्रतिशत पुगेको छ । यसैगरी, सन् २०२५ मा कम्पनीको सञ्चालन मुनाफा २६.६९ प्रतिशत रहेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीको ऋण तथा पुँजीको अनुपात (ओभरअल गियरिङ) पनि सुधारोन्मुख देखिएको छ। आर्थिक वर्ष सन् २०२३ मा १.८४ प्रतिशत रहेको यो अनुपात घटेर गत आर्थिक वर्षको चैत मसान्तसम्म १.१७ मा झरेको छ। यसले कम्पनीमा ऋणको भार क्रमशः घट्दै गएको संकेत गर्ने रेटिङ एजेन्सीले जनाएको छ।
त्यसैगरी, ब्याज तिर्न सक्ने क्षमता मापन गर्ने ब्याज कभरेज अनुपात सन् २०२३ मा ४.३७ प्रतिशत रहेकोमा बढेर २४.२५ पुगेको छ। यसको अर्थ कम्पनीले आफ्नो सञ्चालन आम्दानीबाट ऋणको ब्याज सहज रूपमा तिरिरहेको देखाउँछ ।
कुल ऋण र नगद प्रवाहको अनुपात पनि सन् २०२३ मा ४.१६ रहेकोमा घटेर २.६९ मा झरेको छ। यसले कम्पनीको नगद प्रवाहको अवस्था मजबुत बन्दै गएको देखिएको छ ।
कम्पनीको वित्तीय विवरण सबल बनेसंगै कर्जाको रेटिङको पनि स्तरोन्नति भएको छ। केयर रेटिङ्स नेपालले नर्भिकको दीर्घकालीन तथा अल्पकालीन बैंकिङ सुविधाको रेटिङ स्तरोन्नति भएको जानकारी दिएको छ ।
कम्पनीको २ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक ऋण सुविधाको रेटिङ केयर–एनपी बीबीबी बाट बढाएर केयर–एनपी बीबीबी प्लस कायम गरिएको छ। यसैगरी, ५ करोड ८ लाख रुपैयाँ बराबरको अल्पकालीन बैंक ऋण सुविधाको रेटिङ केयर–एनपी ए–थ्री प्लस बाट बढाएर केयर–एनपी ए–टु कायम गरिएको छ।
हाल कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट कुल २ अर्ब ७९ करोड ४७ लाख ८० हजार रुपैयाँ बराबरको बैंकिङ सुविधा उपयोग गरिरहेको छ। यसमध्ये २ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ दीर्घकालीन कर्जा, ४ करोड ७ लाख रुपैयाँ सञ्चालन कर्जा (वर्किङ क्यापिटल) तथा १ करोड १ लाख रुपैयाँ बराबरको प्रतितपत्र तथा बैंक जमानत सुविधा रहेको छ।
दीर्घकालीन कर्जाको ठूलो हिस्सा अस्पतालको पूर्वाधार विस्तार, अत्याधुनिक स्वास्थ्य उपकरण खरिद तथा अन्य दीर्घकालीन लगानीमा प्रयोग गरिएको कम्पनीले जनाएको छ।
सञ्चालन कर्जा भने दैनिक सञ्चालन खर्च व्यवस्थापनका लागि उपयोग भइरहेको छ भने प्रतितपत्र तथा बैंक जमानत सुविधा उपकरण तथा सामग्री खरिदलगायतका प्रयोजनमा प्रयोग हुने गरेको कम्पनीले जनाएको छ।
केयर रेटिङ्सले कम्पनीको वित्तीय सूचकमा आएको सुधार, सञ्चालन आम्दानीको निरन्तर वृद्धि, मुनाफा कमाउने क्षमतामा विस्तार, ऋणको भारमा कमी र ब्याज भुक्तानी गर्ने क्षमतामा आएको मजबुतीका कारण रेटिङ स्तरोन्नति गराएको जानकारी दिएको छ।  यसले कम्पनीको ऋण चुक्ता गर्ने क्षमता पहिलेभन्दा बलियो बनेको तथा डिफल्ट हुने जोखिम घटेको देखिन्छ ।
सन् १९९३ मा स्थापना भएको नर्भिक अस्पतालले तीन दशकभन्दा बढी समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। कम्पनी २०२१ जुलाई ७ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीले काठमाडौं ११६ शय्याको बहुविशेषज्ञ सेवा प्रदान गर्ने अस्पताल सञ्चालन गरिरहेको छ।
यस कम्पनीमा बीएलसी होल्डिङ प्रालिको ३४ प्रतिशत सेयर स्वामित्व रहेकाे छ। वसन्तकुमार चौधरी अध्यक्ष रहेको बीएलसी ग्लोबल होल्डिङको हस्पिटलमा ४९ प्रतिशत स्वामित्व छ । अस्पताललका अध्यक्ष राजेन्द्रबहादुर सिंह छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi