काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकी दूतावासको सहकार्यमा महासंघ सचिवालय, टेकुमा ‘नेपालका प्राथमिकता प्राप्त क्षेत्रका लागि कृत्रिम बौद्धिकता’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले कृत्रिम बौद्धिकता (एआई) को प्रभावकारी प्रयोगमार्फत नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले कृत्रिम बौद्धिकता नेपाली निजी क्षेत्रको उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र नवप्रवर्तन अभिवृद्धि गर्ने महत्त्वपूर्ण माध्यम भएको बताए। उनले कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोग, डिजिटल पूर्वाधारको विकास, सीप अभिवृद्धि तथा नीतिगत सुधारमार्फत नेपालले प्रविधिमा आधारित आर्थिक विकासलाई गति दिनुपर्ने उल्लेख गरे। साथै, सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीचको सहकार्यबाट नेपालको आवश्यकता अनुरूप कृत्रिम बौद्धिकता प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए।
उनले नेपालका युवा उद्यमी, नवप्रवर्तक तथा स्टार्टअप उद्यमहरूमा कृत्रिम बौद्धिकताप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै ग्राहक सेवा, डिजिटल भुक्तानी, वित्तीय प्रविधि, स्मार्ट कृषि, पर्यटन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा यसको प्रयोगका व्यापक सम्भावना रहेको बताए। उपयुक्त नीति, डिजिटल पूर्वाधार, सीप विकास र लगानी सुनिश्चित गर्न सके नेपाली युवालाई प्रविधिको उपभोक्ता मात्र नभई कृत्रिम बौद्धिकतामा आधारित समाधानका सिर्जनाकर्ता बनाउन सकिने उनको भनाइ थियो।
कार्यक्रममा अमेरिकी कम्पनी लिफ्ट डट एआई का संस्थापक तथा प्रमुख कृत्रिम बौद्धिकता अधिकृत डेभिड स्वाइसगुडले कृत्रिम बौद्धिकताको व्यावसायिक प्रयोग, विश्वव्यापी अभ्यास तथा नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा यसको सम्भावना र चुनौतीबारे प्रस्तुति दिए। उनले कृत्रिम बौद्धिकताको नियमित अभ्यास र प्रयोगबाट आवश्यक सीप विकास गर्न सकिने धारणा पनि व्यक्त गरे।
महासंघकी केन्द्रीय सदस्य जुना माथेमाले डिजिटल रूपान्तरणको वर्तमान युगमा कृत्रिम बौद्धिकता निजी क्षेत्रका लागि अवसर मात्र नभई आवश्यकता बनिसकेको बताए। उनले नेपाली उद्योग–व्यवसायलाई प्रविधिसँग जोड्दै नवप्रवर्तन, अनुसन्धान तथा डिजिटल सीप विकासमा लगानी गर्न सके मुलुकको आर्थिक प्रतिस्पर्धात्मक क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आफ्नो व्यवसायमा कृत्रिम बौद्धिकताको प्रयोग, कार्यान्वयनका चुनौती, तथ्याङ्क व्यवस्थापन, बजार विस्तार, ग्राहक सेवा तथा उत्पादन व्यवस्थापनसँग सम्बन्धित विविध जिज्ञासा राखेका थिए।
कार्यक्रममा महासंघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सूचना प्रविधि क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्