Skip to content

आरती पावरको इस्युअर र बैंकिङ रेटिङ यथावत्, १४.५ मेगावाटको अपर इर्खुवा खोला आयोजना अन्तिम निर्माण चरणमा

काठमाडौं । आरती पावर कम्पनी लिमिटेड (एपीसीएल) ले प्राप्त गरेको इस्युअर रेटिङ तथा बैंकिङ सुविधासम्बन्धी रेटिङ यथावत् कायम भएको छ। केयर रेटिङ्स नेपालले कम्पनीको ‘केयर एनपी बीबी माइनस ‘ इस्युअर रेटिङ, दीर्घकालीन बैंकिङ सुविधाको ‘केयर एनपी बीबी माइनस ‘ तथा अल्पकालीन बैंकिङ सुविधाको ‘केयर एनपी ए फोर’ रेटिङ पुनः पाएको छ । कम्पनीको कुल बैंकिङ सुविधा २ अर्ब १२ करोड रुपैयाँबाट घटेर १ अर्ब ८५ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ।
केयर रेटिङ्सका अनुसार आरती पावरले भोजपुर जिल्लामा निर्माण गरिरहेको १४.५ मेगावाट क्षमताको अपर इर्खुवा खोला जलविद्युत आयोजना अन्तिम निर्माण चरणमा पुगेको छ। आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८३ करोड ५० लाख रुपैयाँ रहेको छ, जसमा ६३ प्रतिशत ऋण र ३७ प्रतिशत स्वपुँजी लगानी रहने संरचना तय गरिएको छ। यसअनुसार १ अर्ब ८० करोड रुपैयाँ ऋण र १ अर्ब ३ करोड ५० लाख रुपैयाँ इक्विटी परिचालन गरिनेछ।
सन् २०२६ फेब्रुअरीको अन्त्यसम्म आयोजनाको भौतिक प्रगति करिब ९७ प्रतिशत पुगेको छ भने २ मार्च २०२६ सम्म २ अर्ब ५८ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ, जुन कुल लागतको करिब ९१ प्रतिशत हो। यद्यपि परियोजना निर्धारित लागत र समयसीमाभित्र सम्पन्न हुने विषय अझै पनि प्रमुख जोखिमका रूपमा रहेको केयर रेटिङ्सले उल्लेख गरेको छ। आयोजनाको आवश्यक व्यावसायिक सञ्चालन मिति (आरसीओडी) १० मार्च २०२८ तोकिएको छ। यदि उक्त समयभित्र आयोजना सञ्चालनमा आउन नसके कम्पनीले ढिलाइ अवधिमा प्राप्त हुन सक्ने आम्दानीको ५ प्रतिशत बराबर जरिवाना तिर्नुपर्नेछ। आरसीओडी पछि ६ महिनाभन्दा बढी ढिलाइ भए विद्युत् खरिद दर (ट्यारिफ) वृद्धिसम्बन्धी सुविधा पनि प्रभावित हुने जनाइएको छ।
केयर रेटिङ्सले नदी प्रवाहमा आधारित आयोजना भएकाले जलप्रवाहमा हुने उतारचढाव, विद्युत् उत्पादनको मौसमी निर्भरता तथा आम्दानीमा पर्ने प्रभावलाई महत्त्वपूर्ण जोखिमका रूपमा औँल्याएको छ। वर्षा याममा उत्पादन बढी र हिउँदमा कम हुने भएकाले प्रतिकूल जलप्रवाह हुँदा कम्पनीको आम्दानीमा असर पर्न सक्ने उल्लेख छ। साथै, उत्पादित विद्युत् सङ्खुवासभास्थित नेपाल विद्युत् प्राधिकरणको शीतलपाटी सबस्टेशन सम्म पुर्‍याउन करिब १०.२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गर्नुपर्ने भएकाले त्यसको समयमै सम्पन्न हुनु पनि कम्पनीको वित्तीय अवस्थाका लागि महत्त्वपूर्ण रहने बताइएको छ।
नेपालको भौगोलिक अवस्थाका कारण बाढी, पहिरो लगायत प्राकृतिक विपद्को जोखिम जलविद्युत आयोजनामा उच्च रहने र यसले निर्माणदेखि सञ्चालनसम्म असर पुर्‍याउन सक्ने भएकाले कम्पनी त्यस्तो जोखिमबाट पनि अछुतो नरहेको केयर रेटिङ्सको विश्लेषण छ। यद्यपि कम्पनीको रेटिङलाई बलियो बनाउने पक्षहरू पनि प्रशस्त रहेको केयर रेटिङ्सले जनाएको छ। कम्पनीका प्रवर्द्धक तथा व्यवस्थापन टोली जलविद्युत क्षेत्रमा अनुभवी रहेको, दीर्घकालीन विद्युत् खरिद सम्झौता  रहेको, प्रतिपक्षीय जोखिम मध्यम रहेको तथा ऊर्जा क्षेत्रमा सरकारी नीतिगत समर्थन उपलब्ध रहेकोले कम्पनीलाई सकारात्मक आधार प्रदान गरेको मूल्यांकन गरिएको छ।
कम्पनीका अध्यक्ष भरतबहादुर खत्री दुई दशकभन्दा बढी अनुभव भएका कानुन व्यवसायी हुन् भने निर्देशक वीरेन्द्रबहादुर न्यौपाने निर्माण तथा जलविद्युत क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव राख्छन्। कार्यकारी निर्देशक प्रकाश दुलाल पनि एक दशकभन्दा बढी समयदेखि जलविद्युत क्षेत्रमा सक्रिय छन्। प्रवर्द्धक समूह अन्य जलविद्युत आयोजनामा समेत संलग्न रहेको केयर रेटिङ्सले उल्लेख गरेको छ।
आरती पावरले १७ जुलाई २०१८ मा नेपाल विद्युत् प्राधिकरणसँग १४.५ मेगावाट विद्युत् बिक्रीका लागि ३० वर्षे पीपीए गरेको छ। सम्झौताअनुसार वर्षा याममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँद याममा ८ रुपैयाँ ४० पैसा दर कायम गरिएको छ। आधार ट्यारिफमा पहिलो आठ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्धि हुने व्यवस्था छ। आयोजनाको वार्षिक सम्झौताअनुसार ऊर्जा उत्पादन ९०.५७ मिलियन युनिट तथा प्लान्ट लोड फ्याक्टर ७१.३१ प्रतिशत रहने अनुमान गरिएको छ।
केयर रेटिङ्सले नेपाल सरकारले ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै कर छुट, निजी लगानी प्रोत्साहन तथा नेपाल राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थालाई ऊर्जा क्षेत्रमा न्यूनतम कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था लागू गरेको उल्लेख गरेको छ। पछिल्ला पाँच वर्षमा विद्युत् माग औसत वार्षिक ११ प्रतिशतले बढिरहेको तथा नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमतिले पनि ऊर्जा क्षेत्रको दीर्घकालीन सम्भावना सकारात्मक रहेको विश्लेषण गरिएको छ।
सन् २०१६ जनवरी १३ मा स्थापना भएको आरती पावर कम्पनी लिमिटेडले भोजपुरमा निर्माणाधीन अपर इर्खुवा खोला जलविद्युत आयोजना बुट  मोडेलमा विकास गरिरहेको छ। कम्पनीसँग हाल १ अर्ब ८० करोड रुपैयाँ दीर्घकालीन टर्म लोन, ५ करोड रुपैयाँ कार्यशील पुँजी सुविधा र ९० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी कुल १ अर्ब ८५ करोड ९० लाख रुपैयाँ बराबर बैंकिङ सुविधा रहेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi